तुलसीपुर -१३ नम्बर वडा कार्यालयको भवन उद्घाटन
अरुण कुमार नेपाली, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले स्थानीय तह बलियो र व्यवस्थित नभएसम्म विकासले गति लिन नसक्ने बताए । उनले स्थानीय तहको स्थापनापछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहजरुपमा सम्पूर्ण सेवा लिन पाउने र त्यसले विकासको गतिमा नयाँ आयाम थप्ने बताए । ‘स्थानिय तह व्यवस्थित नभएसम्म कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख खड्काले भने, ‘त्यसैले पूर्वाधार विकास र निर्माणलाई प्राथमिकतामा राखेर हामी अघि बढेका छौ।’
उपप्रमुख स्यानी चौधरीले स्थानीय तहलाई थप सशक्त र जिम्मेवार बनाउने दायित्व स्वयंम स्थानियको पनि भएकाले साना मसिना विषयलाई उठार विकासको गतिमा कसैले भाँजो हाल्न नहुने बताइन । उनले स्थानिय तह जनताको घर आँगनको सरकार भएकाले आफूहरु सधै जनताको साथमा रहेको बताइन ।
निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वका लागि स्थानीय तह अपरिहार्य रहेको बताए । उनले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई समृद्ध नगरको रुपमा विकास गर्नको लागि आफ्नो कार्यकालमा थुप्रै आधारभुत संरचनाहरुको विकास भएको बताए ।
जनताको सबै भन्दा नजिकको सरकार वडा भएकाले जनताका समस्यालाई सुक्ष्म तरिकाले केलाउदै जनप्रतिनिधीले काम गर्नु पर्ने पाण्डेले बताए । उनले भौतिक संरचनाको अभावमा जनतालाई कार्यसम्पादनमा कठिनाई हुने भन्दै तुलसीपुर १३ नं।को नव निर्मित वडा कार्यालयबाट यहाँ स्थानीय सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडाध्यक्ष मोहनलाल पौडेलले तुलसीपुर उपमहानगरपालिकाको उपलब्ध ५० लाख बजेटबाट ६ कोठे सुविधा सम्पन्न वडा कार्यालयको भवन निर्माण गरिएको जानकारी गराए । उनले नयाँ भवनको निर्माण भएसंगै अब जनताको काम गर्न सहज हुने बताए । ‘विगतमा पुरानो भवनबाट सेवा दिदा निकै कठिनाई थियो,उनले भने,‘नयाँ भवन निर्माण भएसंगै अब जनताको काम गर्न सहज हुनेछ।’अध्यक्ष पौडेलले निर्वाचनका समयमा आफूहरुले बाचा गरे अनुसार केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउदै पाँच वर्षको समयावधिभित्र फुलबारीका जनताले हेर्दा देखिने र छाम्दा भेटिने विकासका काम गर्ने बताए ।
कार्यक्रममा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य यमकुमारी खड्का,तुलसी उपमहानगरपालिका वडा १३ नं.वडा कार्यालयका निवर्तमान कार्यबहाक अध्यक्ष बिनोद पाण्डे,पूर्व गाविस उपाध्यक्ष ताराबहादुर कार्की,बाबुराम बिक,रेडक्रसमा हरिहर पौडेल,अम्वेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक थानेश्वर आचार्य,न्यू मिनी भ्याली इङलिस बेर्डिङ स्कुलका शिक्षक काशिराम खड्का, चिसापानी टोलविकास संस्थाका अध्यक्ष देव बहादुर बिकले शुभकामना मनतव्य दिएका थिए।
भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका १३ नं.वडा भित्रका टोल विकास संस्थाबाट विभिन्न सांस्कृति पहिचान झल्कने नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका १३ नं. वडाध्यक्ष मोहनलाल पौडेलको अध्क्षतामा भएको कार्यक्रममा सदस्य खिमकान्त पाण्डेले स्वागत मनतव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण सरजु गंगा टोल विकास संस्थाका अध्यक्ष देवीराम कुसारीले गरेका थिए।
तपाईंको प्रतिक्रिया