नेपालगन्जका विद्यालयमा असार ७ गतेसम्म बिदा

 जेठ १८, २०८१

नेपालगन्ज । नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ । गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको  नेपालगन्ज उपमहानगरले जनाएको छ ।

विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।  उहाँले गर्मी घट्नुको सट्टा झन बढ्दै गएर तापक्रमले विगतका वर्षको सबै कीर्तिमान तोड्न थालेपछि बिदा थप गरिएको बताउनुभयो।

चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई प्रर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

तपाईंको प्रतिक्रिया