खानेपानीको समस्या समाधान गर्न नागरिक र सरकार उत्तिकै जिम्मेवार: मेयर खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खानेपानी समस्या समाधानकालागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल तुलसीपुर उपमहानगरपालिका स्तरिय भेलालाई सम्बोधन गर्नुहुँदै मेयर खड्काले खानेपानी समस्या समाधानका लागि स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताउनुभयो ।
‘खानेपानीको समस्या विकराल बन्दै छ ।’ मेयर खड्काले भन्नुभयो,‘समस्या समाधानकालागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’ खानेपानीको मुहान संरक्षण गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले जंगल फडानी र आगलागी नै खानेपानीका मुहान सुक्नुको कारण भएको बताउनुभयो ।
जंगल फडानी र आगलागी रोक्ने दायित्व नागरिको भएको उहाँको भनाई छ । उहाँले बर्खाको पानी संचित गरी ड्याम निर्माण गर्नुपर्ने बताउनुभयो । खानेपानीका संस्था आवश्यक भन्दा बढी भएको भन्दै उहाँले मर्ज गरेर एकिकृत योजना निर्माण गर्न सकिने बताउनुभयो ।
तपाईंको प्रतिक्रिया