तुलसीपुर -११ नम्बर वडाको सार्वजनिक सुनुवाई
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८०र८१ मा प्राप्त बजेटबाट वडाले गरेको वित्तीय प्रगति, सार्वजनिक सेवा प्रवाह,पुर्बाधार विकासमा गरेका कामका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
वडाको प्रगती विवरण पेश गदै वडा सचिव पदम कुमार भण्डारीले बितेको आर्थिक वर्षमा चालुगत खर्चतर्फ शतप्रतिशत खर्च भएको बताए । जस अनुसार ३० लाख ७९ हजार ३ सय रूपैयाँ बजेट रहेकोमा शतप्रतिशत रकम खर्च भएको कार्यक्रममा वडा सचिव भण्डारीले जानकारी दिए । यस्तै पुँजीगत खर्चतर्फ ५९ लाख ६३ हजार ८ सय २२ रूपैयाँ रहेकोमा ५९ लाख ४७ हजार ४ सय ८२ रुपैयाँ अर्थात् ९९.७५ खर्च भएको वडा सचिव भण्डारीले जानकारी दिए ।यस्तै , नदिजन्य पदार्थ विक्रिवितरबाट ४१ लाख ५३ हजार ९ सय ५० रूपैयाँ, भूमिकरबाट ९ लाख ६९ हजार ३ सय ५६, सिफारिस दस्तुरबाट १४ लाख १२ हजार ७सय ८७,व्यक्तिगत घटना दर्ताबाट १ लाख १ हजार ४ सय १, सम्पत्ति करबाट ३ लाख८८ हजार ३सय१८,अन्य सेवा शुल्कबाट ८ लाख ३० हजार ८७ र अन्य दस्तुर मार्फत १ हजार २ गरी ७८ लाख ५७ हजार ९८ रूपैयाँ राजश्व संकलन भएको सचिव भण्डारीले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले अन्य वडाहरूको तुलनामा थुप्रै विकास निर्माणका कामहरु भएको हुदा निरन्तरता दिनुपर्ने बताएका थिए । सहभागिहरुले वडामा निशुल्क फोटोकपी सेवा,निशुल्क निवेदन सेवाले वडाबासिले राहतको महशुस गरेको बताएका थिए । नमुना वडाका रुपमा विकास गर्नका लागि सबै क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
सुकौरामा रहेको दंगिशरण थारू राजाको दरवार क्षेत्रको इतिहासलाई नमेटिने गरि विकासमा ध्यान दिनुपर्ने सुकौरा निवासी देवबहादुर चौधरीले बताए । स्थानिय नेत्रमणि शर्माले जेष्ठ नागरीकको लागि सामाजिक सुरक्षा भत्ता वितरण कार्य सहज बनाउन जनप्रतिनिधिले भुमिका खेल्नुपर्ने बताएका थिए ।
वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका जिल्ला उपसभापती अर्जुन केसी,एमालेका भागिराम चौधरी,राप्रपाका लिलाध्वज बस्नेत, अमर मावि उरहरीका प्रधानध्यापक पदम बहादुर वली, मावि नवलपुरका प्रअ योगराज खत्री,आवि कटाहाका टंक भण्डारी,उरहरी श्वास्थ्य चौकीको प्रमुख चित्र बहादुर वली,रोल्पा सुनिल स्मृती गाउपालीका वडा नम्बर ६ का अध्यक्ष लोकेन्द्र बहादुर थापा,साना किसान सहकारी संस्थाका उपाध्यक्ष अर्जुन बस्नेत लगायतले विकासका हिसावले पछि परेको बस्तीमा विकास गर्नुपर्ने बताएका थिए । विकास पहुचका आधारमा नभई आवस्यकताका आधारमा हुनुपर्ने उनिहरुले बताएका थिए ।
कार्यक्रममा विकास निर्माणलाई समेटेर तयार पारिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागिबाट उठेका प्रश्नको जवाफ दिदै वडाध्यक्ष मान बहादुर रावतले हेर्दा देखिने र छाम्दा भेटिने गरि वडाको विकासमा लागेको बताए । वडावासीहरूको आधारभुत आवश्यकतालाई परिपुर्ति गर्ने गरि कार्यक्रम बनाएर लागू गरिएको उनको भनाइ थियो ।
वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार बसन्त परियारले गरेका थिए ।
तपाईंको प्रतिक्रिया