आज विश्वकर्मा पूजा
काठमाडौं । आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।नेपालमा मात्रै नभइ भारतमा पनि विश्वकर्मा पूजा उल्लासपूर्ण रुपमा मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरिन्छ ।
हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान् विश्वकर्माको महत्त्व दर्साइएको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा परापूर्व कालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरू बताउँछन् । भगवान् विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।
आज सवारीसाधन, वाद्ययन्त्र, मेसिन, कल, पार्टपुर्जा तथा धातुका उपकरणको पूजा गरिनुका साथै उद्योगहरू खुला राखेर सबैलाई प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।
तपाईंको प्रतिक्रिया