सल्यान–दाङ सडक भासिदा पूर्णरूपमा ठप्प
दाङ । अविरल वर्षाका कारण निरन्तर परिरहेको पानीले राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ सडक खण्ड भासिएको छ । शनिबार बिहान करिब ७ः३० बजेतिर राम्रीदेखि चोरखोला बिचको सडक भासिएको हो । सडक भासिदा लामो तथा छोटो दुरीका यातायातका साधन पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक पूर्णरुमा भासिएकाले केही दिन सम्म सवारी आवागमन ठप्प हुने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सडक धेरै तलबाट भासिएकाले मर्मत गर्न करिब ४/५ दिन समय लाग्ने देखिन्छ । सडक सुचारु नहुँदा सम्म ठूलो सवारी साधन ठप्प हुने उनले जनाए ।
साना सवारी साधन आवागमनका लागि भने कपुरकोट पाखापानी अन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिए पनि पानी परिरहेकाले समस्या आएको खत्रीले जनाए । भासिएको सडकमा मर्मतका लागि ठूलो वाल निर्माण गर्नुपर्ने देखिएको छ ।
तपाईंको प्रतिक्रिया