बेमौसमी वर्षाले धान बालीमा क्षति

 कार्तिक २०, २०८१

बाँके । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताए ।

दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ।

नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताए । बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्याएको बताए ।  बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्याएको छ ।

तपाईंको प्रतिक्रिया