जस्पुर प्रहरी चौकीको भान्सा घर निर्माण

 मङि्सर १५, २०८१

तुलसीपुर । प्रहरी चौकी जस्पुरको भान्सा घरको उदघाटन गरिएको छ । तुलसीपुर उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले आज उक्त भान्सा घरको उदघाटन गरेका हुन । तुलसीपुर उपमहानगरपालिकाको चार लाख ९५ हजारको लागतमा तीन कोठे भान्साघर निर्माण भएको हो ।

वडा न १२ का वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा बोल्दै नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र रहेका प्रहरी युनिटमा जग्गा प्राप्ति भएको स्थानमा आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । उहाँले जग्गा प्राप्तिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग गरिने समेत बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीको सहकार्यमा अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेको र ११ वटाको जग्गा प्राप्ति भए पनि भवन निर्माण गर्न साधनस्रोतको अभाव रहेको बताउनुभयो । कार्यक्रममा तुलसीपुर ११ का वडाध्यक्ष मानबहादुर रावतले तीन वटा वडा कार्यक्षेत्र र पालिकाको डुबान क्षेत्र समेत रहेकाले भवन बहुआयामिक रुपमा उपयोग गर्न सकिने बताउनुभयो ।

प्रहरी चौकी जसपुरका प्रमुख भरतनाथ योगीले तीन कोठे भवनमा भान्सा मात्र नभइ विपदको समयमा राहत सामग्री व्यवस्थापन, निर्वाचनको समयमा निर्वाचन सामग्री व्यवस्थापन गर्न सकिने बताउनुभयो । कार्यक्रममा प्रहरी चौकीलाई चार कठ्ठा जग्गा दान गर्नुहुने तेजबहादुर बुढाथोकी र तीन कठ्ठा जग्गा दान गर्नुहुने मानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया