स्वस्थानी व्रतकथा सुरु

 पुष २९, २०८१

दाङ ।      वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।

ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।

धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउँछिन् । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रूपमा कार्यरत छिन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

तपाईंको प्रतिक्रिया