लुम्बिनी प्रदेश स्थापना दिवस: सोमबार सार्वजनिक बिदा

देउखुरी । लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ । यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो ।
गतवर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो । सोही अनुरुप आइतबारदेखि मंगलबार सम्म विभिन्न कार्यक्रम आयोजना गरिएका छन् भने सोमबार स्थापना दिवसको विशेष समारोह आयोजना गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुखको विशेष उपस्थितीमा प्रदेशसभा सचिवालय परिसरमा प्रदेश स्थापना दिवस समारोह आयोजना गरिएको छ । स्थापना दिवसको मुल समारोहमा बाजागाजा सहितको झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् ।
तपाईंको प्रतिक्रिया