सिन्धुपाल्चोकमा बाढी: १८ जना बेपत्ता,२ जनाको शव भेटियो

 असार २५, २०७७

तुलसीपुर,२५ असार ।

अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । १८ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बुको ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा १५ घर बगाएको हो । दुई जनाको शव भेटिएको र १८ जना सम्पर्क बिहिन भएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

२० वर्षका निकेश बस्नेत र उहाँका ३ वर्षीया छोरीको शव भेटिएको स्थानीयले बताएका छन् । अन्यको खोजी भइरहेको छ । खोजीका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन् । गए रातिदेखिको अबिरल बर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । उद्दारका लागि निस्किएको नेपाली सेना र प्रहरी जबमुसम्म पुग्न सक्ने अवस्था नभएकोले उद्दारको काम समयमै हुन नसकिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनका अनुसार बाह्रबिसेको खोर्सानीबारी भन्दा माथितिर जान सकिरहेको छैन । टेलिफोन अवरुद्ध भएको पनि पाख्रिनले बताउनुभयो । भोटेकोसी नदिको बहाव बढेकाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ ।

यसैबीच, अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया