बलात्कारको प्रतिकार गर्दा बालिकाको हत्या !
विराटनगर ।
सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ । बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ ।
हत्यामा संलग्नको आशंकामा प्रहरीले स्थानीय रञ्जित राईसहित ८ जनालाई पक्राउ गरेको थियो । तर अरु ७ जना रिहा भएका छन् भने रञ्जितमाथि अनुसन्धान सुरु गरेको छ । राति बाबुआमासँगै छिमेकीको घरमा धामी हेर्न गएकी मिना राई निद्रा लागेपछि मध्यरातमा एक्लै घर फर्किएकी थिइन् । परिवारका सबै सदस्य धामी हेर्न जाँदा ढोकामा चाबी लगाएका कारण उनी झ्यालबाट आफ्नो कोठामा सुत्न गएकी थिइन् ।
राति ११ बजे बालिकाको घरमा सामान किन्ने बाहनामा आएका रञ्जित झ्यालबाट बालिका सुतेको कोठामा प्रवेश गरेको प्रहरी स्रोतको भनाइ छ । रञ्जितले घरेलु मदिरा सेवन गरेका थिए, बालिकाले हात टोकेको रिसमा उनले बोतलले बालिकाको टाउकोमा प्रहार गरे । त्यसपछि घाँटी थिचेर बालिकाको मृत्युपछि बाहिर निस्केको प्रहरी स्रोतको दावी छ ।
घटनामा रञ्जितको मात्र संलग्नता देखिएपछि अन्यलाई छाडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया