‘युद्धभूमिबाट शान्त भूमि आइपुग्यौं’

 भदौ ०२, २०७८

काठमाडौँ । ताप्लेजुङका सुवास गुरुङ मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको एक घण्टापछि आगमन कक्षबाट बाहिर निस्कँदा मुसलधारे पानी परिरहेको थियो । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अपर्झट देश फिरेका उनलाई लाग्यो– पानीले स्वागत गर्‍यो  । विमानस्थल उत्रेलगत्तै भने उनलाई केही फरक अनुभव भयो । पहिलेजस्तो यात्रु प्रतीक्षालय भरिभराउ थिएन । विगतमा प्रत्येक ५ वर्षमा बिदामा घर आउँदा उनलाई लिन परिवारजन त्यही प्रतीक्षालयमा पर्खिबसेका हुन्थे । तर यसपटक उनलाई लिन परिवारको साटो सेना–प्रहरी थिए ।

आगमन कक्षबाट बाहिर निस्किनेबित्तिकै सेना–प्रहरीको टोलीले एस्कर्टिङ गर्दै सेनाको बसमा चढाए । अन्य साथीहरूलाई पनि यसरी नै एस्कर्ट गरिएको थियो । सेनाले उनीहरूलाई बसमा चढाउँदै कोभिड–१९ परीक्षणका लागि सामाखुसीस्थित राधास्वामीतर्फ पठाइरहेको थियो । ‘काबुलमा त्रास फैलिएदेखि नै सेनाले साथ छोडेको छैन । चार दिनदेखि सुरक्षाकै घेरामा जीवन चलिरहेको छ,’ विमानस्थलको पार्किङस्थलमा रोकिराखेको बसको ढोका छेउमा भेटिएका गुरुङले भने, ‘पछिल्लो एक साताको समय मेरा लागि जीवनकै अविस्मरणीय समय बन्यो । जसको नुनपानी खाएको थिएँ, उसलै देश फर्काइदियो ।’

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलबाट उद्धार गरेर उनीसहित १ सय १८ जना नेपाली र ९ जना भारतीयलाई कुवेत हुँदै मंगलबार काठमाडौं पठाएको हो । ३ सय ८५ जना नेपाली अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासको सुरक्षा गार्डमा तैनाथ थिए । दूतावास परिसरमा मात्रै ५ सय ६९ नेपाली थिए । १ सय ८४ जना घर बिदामा नेपाल आएका थिए ।

भारतीय सेनाबाट अवकाश लिएपछि गुरुङ रोजगारीका लागि अफगानिस्तान पुगेका थिए । ‘हामी दूतावासको सुरक्षाको तेस्रो लहरमा बस्थ्यौं । परिसरबाहिर अफगान प्रहरी नै बस्ने गरेको थियो । अमेरिकाले सेना हटाएपछि के हुन्छ होला भन्ने लागिरहेको थियो । एक्कासि काबुल छाड्नुपर्ने सूचना आयो,’ उनले भने, ‘यति छिट्टै काबुलबाट हिँड्नुपर्छ भन्नेचाहिँ लागेको थिएन ।’

अमेरिकी कम्पनीले कामदारसँग करारपत्र गर्ने बेलामा नै आपत्कालीन अवस्था आइपरेमा उद्धार गर्ने जिम्मेवारी लिने सर्त राखेको हुन्छ । त्यही सर्त पूरा गर्ने भएपछि वैदेशिक रोजगार विभागले कम्पनीलाई अफगानिस्तानमा सुरक्षा गार्ड भर्ना गर्ने अधिकार दिइएको थियो ।

मंगलबार आएकामध्ये एक जनालाई कोभिड देखिएको छ । उनीसँग नजिकका ७ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । एकै उडानमा आएका ९ जना भारतीयलाई काठमाडौंस्थित भारतीय दूतावासको जिम्मा लगाइएको परराष्ट्रले जनाएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म अफगानिस्तानमा रहेका २ सय ५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

कान्तीपुरबाट साभार

तपाईंको प्रतिक्रिया