मौलिक चलचित्रलाई अनुदान : बोर्ड प्रवक्ता बुढाथोकी

 साउन ०८, २०८०

दाङ । चलचित्र विकास बोर्डका प्रवक्ता के.एल.बुढाथोकीले बोर्डले मोफसल केन्द्रीत कार्यक्रमहरु ल्याएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बुढाथोकीले बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा मोफसलमा बनेका चलचित्रहरुलाई प्रथामिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताएका हुन् ।

बोर्डले मोफसलमा निर्माण भएका तीन वटा लघु चलचित्रलाई अनुदान दिने बताए । मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोष्ट पोर्डक्सन देखि प्रर्दशनी सम्म बोर्डले अनुदान सहयोग गर्ने उनले बताए । उनले चलचित्रका गतिविधिलाई कुनाकान्धारामा पुर्‍याउँने गरी बोर्डले मोफोसल केन्द्रीत कार्यक्रम ल्याएको बताए । उनले दुईवटा चलचित्र महोत्सव गर्ने र सिनेमाको पहुच विस्तार र सक्षारता बढाउँन देशका विभिन्न क्षेत्रमा घुम्ते सिनेमा कार्यक्रम गर्ने जानकारी दिए ।

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बोर्डले सामाजिक जागरण ल्याउने खालका तीनवटा लघु चलचित्र निर्माण गर्ने बताए । उनले विभिन्न संघसंस्थाको सहयोगमा बोर्डले जातिय छुवाछुत र सामाजिक कुप्रथा विरुद्धका लघु चलचित्र निर्माण गर्ने जानकारी दिए । त्यस्तै उनले बोर्डले यस वर्ष लघु चलचित्र प्रतियोगिता गर्ने, स्टोरी बैंक मार्फत देशभरीबाट उत्कृष्ट कथाहरु छानेर चलचित्र निमाणर् गर्ने जस्ता कार्यक्रमहरु बोर्डले अघि सारेको बताए ।

बोर्डका प्रवक्ता बुढाथोकीले पहिलो पटक नेपालमा चलचित्र सम्बन्धी एक्सपो गर्न लागिएको समेत बताए । चलचित्र सम्बन्धी सबैखाले प्रर्दशनी रहने गरी बार्डले यही वर्ष काठमाडौंमा चलचित्र एक्सपो गर्ने बताए । उनले बोर्डले राष्ट्रिय चलचित्र नीति-२०८० को प्राराम्भिर मस्यौदा तयार गरेको समेत बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले चलचित्र क्षेत्रको विकास, नयाँ प्रतिभाको खोजी र चलचित्र क्षेत्रमा लागेका प्रतिभाहरुको प्रोत्साहन हुने गरी बोर्डले कार्यक्रमहरु गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया