‘अन्धकार चिर्ने दियो’ गजल संग्रहको समीक्षा

 भदौ ३०, २०८०

दाङ। नेपाली गजलमा साधनारत साधक एंव गजलकार सुरेशकुमार पाण्डेको ‘अन्धकार चिर्ने दियो’ गजल सङ्ग्रहको समीक्षा गरिएको छ ।राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको नियमित कृतिसमीक्षा कार्यक्रम अन्तर्गत १८८ औं श्रृङ्खलामा शुक्रबार पाण्डेको उक्त गजल सङ्ग्रहको समीक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका सल्लाहकार एंव प्राज्ञिक उत्तम कृष्ण मजगैँयाको प्रमुख आतिथ्यता तथा परिषदका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।समीक्षात्मक कार्यक्रममा बोल्दै प्रमुख अतिथि मजगैँयाले लेखक एंव साहित्यकारहरुले सामाजिक रुपान्तरणका लागि कलम चलाउनु पर्ने बताए ।

उनले गजलकार सुरेशकुमार पाण्डेको अन्धकार चिर्ने दियो गजल सङ्ग्रहले अहिलेको सामाजिक परिवेशलाई यर्थात रुपमा प्रतिविम्बित गरेको बताए । गजलको समीक्षा साहित्यकार एंव गजलकार हरिप्रसाद पौडेलले गरेका थिए ।समीक्षक पौडेलले गजलकार सुरेशकुमार पाण्डेको गजल सङ्ग्रहले समाजको अन्धकार र व्यक्तिमा भएको दासत्व मनोवृत्तिलाई उजागर गरेको बताए । उनले पाण्डेका गजलमा केही त्रुटि भए पनि समग्रमा गजलहरु उत्कृष्ट भएको बताए ।

समीक्षक पौडेलले पछिल्लो परिवेशमा गजल लेखनका नाममा गजलको नियम विपरीत अश्लिलता भित्रीएको बताउदै गजलकार पाण्डेले भने गजलमा अश्लिलतालाई मुक्त गरेको बताए ।पाण्डेका गजलमा क्षेत्रीय र लैङ्गिक विभेदलाई समेत उठान गरिएको समीक्षक पौडेलले बताए । कार्यक्रममा स्रष्टा एंव गजलकार सुरेशकुमार पाण्डेले आफ्नो गजल संङ्ग्रहको बारेमा प्रकाश पारेका थिए । पाण्डेले समाजमा भएका विकृति,विसंगति र अभावलाई आफ्ना कृतिमा समावेश गरेको र आगामी दिनमा पनि यस्ता विषयमा निरन्तर कलम चलाईरहने बताए ।

पाण्डेको उक्त गजल सङ्ग्रहमा एक दश गजल समावेश छन् ।समीक्षात्मक कार्यक्रममा गजलकार पाण्डेलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण सचिव प्रकाश केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया