भाषा,कला र संस्कृतिको जर्गेना गरौँ: नगरप्रमुख खड्का

 पुष १३, २०८१

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सबै भाषा,कला र संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनुभएको छ । नेवा देय दबु र नेवा मिस दबुको दाङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खड्काले नेवा संस्कृति,भाषा संरक्षणमा स्थानीय सरकारको चासो रहेको बताउनुभयो । उहाँले नेवारी समुदायको खाना संस्कृतिको जर्गेना गर्नका लागि खाना महोत्सव आयोजना गरिएको भन्दै पालिकाभित्र रहेका जातजातिका भाषा,संस्कृति,कला संरक्षणका लागि ललितकला सम्बन्धी ऐन ल्याउन थालिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका खड्काले नेवारी भाषा संरक्षणमा नेवा समुदायबाट अग्रसर रहे पालिकाबाट प्रशिक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेवा देय दबु दाङका अध्यक्ष विनोदकुमार श्रेष्ठको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष नरेश राजभण्डारीले नेवाः संस्कृतिभित्र सबैलाई सम्मान गर्ने संस्कृतिको विकास रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका राजभण्डारीले नेवा समुदाय आफ्नो भाषा,कला,संस्कृति संरक्षणमा चासो देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेवा देय दबु तुलसीपुर नगर अध्यक्ष शिव श्रेष्ठ,राप्ती गाँउपालिकाका अध्यक्ष हरिप्रसाद श्रेष्ठलगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव नवराज श्रेष्ठले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया