हस्तकला उद्यमशीलता प्रवर्द्धन गर्न ढकिया बनाउने तालिम
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा १५ दिने ढकिया बनाउने एडभान्स सीप विकास तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वडा नं १३ को समन्वय र ग्रीन फाउन्डेशन दाङको आयोजनामा असार १ बाट तालिम सुरु भएको हो । सामुदायिक वनमा आधारित हस्तकला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिम सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरीएको थियाे । तालिममा सहभागीहरूले परम्परागत सीपलाई अझ प्रभावकारी र व्यवसायिक रूपमा प्रयोग गर्ने सीप सिकेका छन् ।
तालिम अवधिभर सहभागीहरूले ढकियाका साथै चटकी, पेनहोल्डर, पुजाडाली, डस्टबिन जस्ता विभिन्न हस्तकला सामग्री बनाउन सिकेका थिए । तालिम समापन कार्यक्रम संस्थाका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षता तथा वडा नं १३ का वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य विमला शर्मा र बेलमती परियार, ग्रीन फाउन्डेशन दाङका सचिव जीत बहादुर खड्का, सदस्य गीता पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष पौडेलले गाउँघरमा सहजै उपलब्ध सामुदायिक वनका कच्चा पदार्थको उचित सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “सामुदायिक वनमा पाइने काँस जस्ता स्रोतलाई व्यवस्थित गर्दै ढकिया लगायतका हस्तकलाका सामग्री उत्पादनलाई अझ व्यवस्थित बनाइनेछ । आगामी वर्ष उन्नत जातका काँस रोपेर कच्चा पदार्थको स्रोत थप दिगो बनाउने योजना छ ।”
कार्यक्रममा संस्थाका अध्यक्ष केसीले तालिमले सहभागीहरूलाई नयाँ सीप र उत्साह प्रदान गरेको भन्दै सिकाइलाई व्यवहारमा उतारेर गाउँघरमै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न आग्रह गरे। तालिममा सहभागी सस्मिता चौधरीले तालिमले आफूजस्ता युवालाई आत्मनिर्भर हुन हौसला दिएको बताईन ।
तालिममा वडा नं १३ का विभिन्न सामुदायिक वन उपभोक्ता समूहका १५ जना प्रतिनिधिहरू सहभागी भएका थिए । प्रशिक्षक शुशिला कुमारी थारु र शारदा चौधरीले सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत ढकिया मात्र होइन, चटकी, पेनहोल्डर, पुजाडाली, डस्टबिन जस्ता आकर्षक र बिक्रीयोग्य सामग्री बनाउने सीपमा पनि दक्ष गराएका थिए ।
समापन कार्यक्रममा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष केसीले ग्रीन फाउन्डेशन दाङको तर्फबाट भविष्यमा पनि सीप विकास, प्राविधिक सहयोग र बजार विस्तारमा सघाउने प्रतिबद्धता जनाएका थिए ।



तपाईंको प्रतिक्रिया