नदीमा डुबेर बेपत्ता तुलसीपुरका दुई किशोरको शव फेला

 असार ३०, २०८२

दाङ । बबई नदीमा डुबेर बेपत्ता भएका तुलसीपुरका दुई किशोरको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसीको शव आज साँझ ५ बजे फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिएका छन् ।

दुवै जना बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका थिए । छहरा नजिकैको बबई नदीमा दिउँसो साढे २ बजेतिर नुहाउने क्रममा उनीहरू बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार, बिधान नदीमा नुहाउने क्रममा बगाएपछि उनलाई बचाउन कुशलले पनि नदीमा हाम फालेका थिए । तर दुवै जना पानीको तीव्र बहावमा बेपत्ता भएका थिए ।

शव पोष्टमार्टमका लागि तुलसीपुर ल्याइएकाे छ । मृतक दुवै जना तुलसीपुरस्थित गाेरखा कलेजमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । उनीहरू साथीहरुसँग झरना अवलोकनका लागि पुगेका थिए ।

तपाईंको प्रतिक्रिया