बडादशैं शुरू, आज घर-घरमा घटस्थापना गरी जमरा राखिँदै

 असोज ०६, २०८२

काठमाडौं । हिन्दुहरूको महान् चाड बडादशैं आजदेखि विधिवत् शुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैंको रौनक छाएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ।

आज बिहानै नित्यकर्म सकेर सफा माटो वा बालुवामा गाईको गोबरले लिपी दशैं घर वा पूजा कोठामा जौ (यव) रोपेर घटस्थापना गर्ने परम्परा छ, जसलाई ‘जमरा राख्ने’ भनिन्छ। जौ दुर्गालाई प्रिय हुने भएकाले जमरा रोप्ने चलन चलेको हो। विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीकका रूपमा यही पहेँलो जमरा ग्रहण गरिन्छ।

घटस्थापना र टीकाको साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ९:१३ बजे तोकेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तोकिएको हो।

यसैगरी, असोज १६ गते विजयादशमीको दिन देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीका ग्रहणको उत्तम साइत बिहान ११:५३ बजे रहेको समितिले जनाएको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन छ।

तपाईंको प्रतिक्रिया