ज्ञानज्योति फाउण्डेसनद्वारा तुलसीपुर उपमहानगरलाई सहयोग

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँस्थित ज्ञानज्योति फाउण्डेशनले आगजनीबाट क्षति पुगेको उपमहानगरलाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा उपमहानगरका दुई भवनसहित कार्यालय सामग्री जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो।
सोही अवस्थामा सहयोगस्वरूप फाउण्डेशनले नौ वटा कम्प्युटर, चार वटा प्रिन्टर, तीन वटा स्क्यानर, दश वटा दराज, १२ वटा कुर्सी, दुई वटा सोफा र २० वटा प्लास्टिकको कुर्सी हस्तान्तरण गरेको हो। सहयोग कार्यक्रममा फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले संकटमा सरकार र समुदायलाई सहयोग गर्नु सामाजिक जिम्मेवारी भएको बताउनुभयाे । संस्थापक अध्यक्ष टिकाबहादुर जिसीले पालिकाको दैनिक कार्य सञ्चालन सहज बनाउन तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको बताउनुभयाे ।
नगर प्रमुख टिकाराम खड्काले फाउण्डेशनलाई धन्यवाद दिँदै सहयोगले कार्यालय सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयाे । हाल उपमहानगरले अस्थायी टहरामार्फत सेवा प्रवाह गरिरहेको छ।
तपाईंको प्रतिक्रिया