भारतलाई उपाधि जित्न मध्यम लक्ष्य

 असोज १२, २०८२

पाकिस्तानले एसीसी टी-ट्वान्टी एसिया कप २०२५ को फाइनलमा भारतलाई उपाधि जित्न १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । एक समय १२.४ ओभरमा ११३-१ को अवस्थामा रहेको पाकिस्तानले बाँकी ३३ रन जोड्न ९ विकेट गुमाएपछि विशाल योगफलको अवसर गुमाएको हो ।

पाकिस्तानका ओपनर शहिबजादा फरानले ३८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए । उनको यो भारतविरुद्ध लगातार दोस्रो अर्धशतक हो । पाकिस्तानलाई ओपनर शहिबजादा फरान र फखर जमानले ९.४ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फखर जमान ३५ बलमा २ चौका र २ छक्कासहित ४६ र सैम अयुब १४ रनमा आउट भए । पाकिस्तानका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्पिनर बरुण चक्रवर्तीको बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा उनी दशौं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट भएका थिए । पावर प्लेमा ४५ रन जोडेको पाकिस्तानले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ८७ रनका साथ बलियो अवस्थामा थियो । त्यसपछि पाकिस्तानले निरन्तर विकेट गुमायो । खराब लयमा रहेका सैम अयुब १४ र मोहम्मद शून्यमा आउट भए । फखर जमान आउट भएपछि पाकिस्तान १४.४ ओभरमा १२६–४ को अवस्थामा पुगेको थियो । एक समय पाकिस्तान १२.४ ओभरमा ११३–१ को मजबुत अवस्थामा थियो । त्यसपछि पनि पाकिस्तान सम्हाल्लिन सकेन । कप्तान सलमान अली आघा ८ र हुसेन तालत १ रनमा आउट भए ।

१७ औं ओभरमा कुलदीप यादवले तीन विकेट लिदै बलियो योगफलको सम्भावना कठिन बनाएका थिए । एक समय ११३-१ को अवस्थामा रहेको पाकिस्तान १७ ओभरमा १३४-८ को अवस्थामा पुगेको थियो । कुलदीप यादवले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र बरुण चक्रवर्तीले २-२ विकेट लिए ।

तपाईंको प्रतिक्रिया