त्यतिबेला सुनेको भए- “तुलसीपुर धुवाँमा होइन, आशामा ढाकिएको हुन्थ्यो”

 कार्तिक ११, २०८२

शुरेस रावत, तुलसीपुर ।

जेन्जी आन्दोलनको दोस्रो दिन, बिहानको हावा अस्वाभाविक रूपमा चलिरहेको थियो । आन्दोलनको नेतृत्व गरी सामाजिक सन्जालमा सहभागिताको लागि आव्हान गर्ने केही साथीहरुलाई मैले फोनमा क्रमशः मित्रहरूलाई सम्झाएँ, “तपाइहरुले सोचेजस्तो, अब यो आन्दोलन शान्तिपूर्ण रहँदैन। भीडलाई नियन्त्रणमा राख्न गाह्रो हुन्छ। धेरै घुसपैठ हुँदैछ, बाहिरका केही खराब तत्व मिसिँदैछन्।” मैले प्रशासनलाई पनि सम्पर्क गरेँ। शब्दहरू प्रष्टै बोलेँ— “यो आन्दोलन तपाईंहरूको नियन्त्रण बाहिर जान्छ है। यसले दिने नतिजा राम्रो हुदैन।” तर, फोनमा उताबाट आएको जवाफ औपचारिक मात्र थियो । हामीले स्थिति हेरेका छौँ, नियन्त्रणमै छ र हुन्छ । तपाईले भने जस्को खासै त्यस्तो केही हुदैन ।

म मनमनै असहज भएँ । सोचिरहे र म सम्हालिन वाध्य भए । नियन्त्रणमै हुन्छ भन्ने आवाजलाई आफुले सोचे – मेरो आँखाले देखिरहेको खतरा उनीहरूले किन देख्न सकेनन् ? बिहानै ११ वजे देखि तुलसीपुरको कालिका मन्दिर परिसरमा मानिसको भिड जम्मा भइसकेको थियो । अघिल्लो दिन भाद्र २३ गते तुलसीपुरको विभिन्न गल्ली हुदै नगरपालिका घेराउ गर्दा देखिएको प्लेकार्ड सहितको दृश्य, चर्को नारा, रातभरको सामाजिक सन्जालमा पोष्ट गरिएका आक्रमक वाल, लगाईएका नाराहरू र युवाहरूको जोशले वातावरण तातिएको थियो । त्रिसिद्धेश्वेरी मन्दिरमा आन्दोलनको नेतृत्व गरेका नेता उठे, आन्दोलनमा सहभागीलाई सम्बोधन गरे । नारा उर्लियो— “ओली, देउवा र प्रचण्ड विरुद्धः मुर्दावाद र देश छोड सम्मको नारा” सम्बोघन सकिएपछि आन्दोलनको भीड एकैपटक एमाले पार्टी कार्यालयतर्फ मोडियो। मानिसहरूका हातमा झण्डा, प्लेकारड थियो, अनि मुटुमा आक्रोश ।

मदन आश्रीत चोकमा पुग्दा पहिलो पटक एउटा एमाले झण्डा च्यातियो र चोक तोडफोड भयो । सुरुवाती क्षणमै वातावरण बदलियो। झण्डा च्यातिँदा भीड चर्को गर्जनमा परिणत भयो। ब्यानर फाटे, बोर्ड भाँचिए । “नेता जति चोर हुन अब हामी छोडदैनौ” भन्ने नारा चर्को रुपमा लाग्न थाले। म देख्थेँ—उत्साह र क्रोधबीचको उनीहरुमा सयमता हराउँदै थियो । भीड बाहिनी चोक हुँदै तुलसीपुर नगरपालिका पुग्यो। पालिका बाहिर राखिएका बोर्डहरू एकपछि अर्को भाँचिए। केही युवाहरूले ढुंगा प्रहार गरे, केहीले गेट ढकढकाए । म मनमनै सोचिरहेँ— “यो अब शान्ति प्रदर्शन होइन, यो त विध्वंशको संकेत हो।” नगरपालिकाको गेटभित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी हुन्छ तर भिडलाई कसैले रोकेन, टाढाबाट हेरेजस्तो मात्रै देखिन्थे । भीड अगाडि बढ्दै प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री दीपक गिरीको घरमा पुग्यो। पहिलो ढुंगा घरको झ्यालमा लाग्दा ठूलो “ठाँक्क” आवाज आयो । त्यसपछि एकपछि अर्को ढुंगा वर्षियो । गिरी परिवारको झ्यालवाहिरबाट पुर्व मन्त्रीको आमा रोएको आवाज सुनियो तेही भिडमा कोही घरमा आगो लगाउनुपर्छ त कोही तोडफोड मात्र गरौ भनेको सुनिन्थ्यो तर भीड त्यहाँ पनि थामिएन ।

इलाका प्रशासन र ईलाका प्रहरी कार्यालय अगाडि नाराबाजी भयो, अनि गेहेन्द्र गिरीको निवास, ईलाका प्रशासन, पुर्व मन्त्री हिराचन्द्र केसी, पुर्व राष्ट्रियसभा सदस्य कोमल वली र प्रदेश सभा सदस्य रेखा शर्माको निवासमा तोडफोड हुन्छ । अचानक भिडभित्रबाट नयाँ आवाज गुञ्जियो। “अब तोडफोड गरेर मात्र हुँदैन, नगरपालिका आगो लगाउनुपर्छ ” त्यो शब्दले भीडमा बिजुली छर्यो। केही व्यक्तिहरू अगाडि आए, तेलका बोतल र सलाइ देखाए । ८–१० मोटरसाइकल ठुलो आवाज निकाल्दै हिडे। मैले टाढाबाट प्रहरीलाई हेरेँ। उनीहरू आफ्नै कार्यालयतर्फ फर्किरहेका थिए। न त हस्तक्षेप, न त नियन्त्रण। सुरु भयो पहिलो आगो—तुलसीपुर उपमहानगरपालिकाको गेट हुदै ।

केही मिनेटमै कालो धुवाँ आकाशतिर उड्यो। कागजहरू, फाइलहरू, नागरिकका उजुरी र नक्साहरू—सबै खरानीमा परिणत भए। त्यसपछि क्रमशः एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय—तीनै दलका मुख्य भवनहरू जलेर ध्वस्त भए । त्यसपछि उच्च अदालत, सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व, इलाका प्रशासन, यातायात, मालपोत, सिचाइ, लोकसेवा, जलाधार, तुलसीपुरका ८, १६, १८, र १० न वडा कार्यालय सबै जले । राजनीतिज्ञहरूको निजी घर र सम्पत्ति पनि जोगिएनन्। एमालेका महासचिव शंकर पोख्रेलको विजौरीमा रहेको निवास पुर्न रुपमा खरानी भयो । नेपाली काग्रेसका नेता पुर्व ससद गेहेन्द्र गिरीको निजि निवास र लुम्बिनीका पुर्व मुख्यमन्त्री डिल्ली चौधरीका २ वटै घर जलेर ध्वस्त भए ।

व्यापारको लागी वनाईएको कोमल ओलीको रिसोर्ट ध्वस्त हुन पुग्यो । एक शहरको मुटु, जसले नागरिकलाई सेवा दिन्थ्यो, त्यो दिन खरानीमाथि उभिन बाध्य भयो। सहरका गल्लीहरू रातभर धुवाँले भरिएका थिए। आकाश रातो रङले रंगिएको थियो। आन्दोलन अब नारा होइन, एक प्रकारको दाह संस्कार जस्तो देखिन्थ्यो । तुलसीपुरका सर्वसाधारण नागरिकको जीवन अचानक ठप्प भयो । कसैले जग्गा पासपोर्ट बनाउन नापी कार्यालय खोज्दा—“जलेर सकियो।” कसैले न्याय माग्न अदालत धाउँदा—“यहाँ त अब केही छैन ।” कसैले कर तिर्न राजस्व कार्यालय धाउँदा—“कागजै छैन।” मानिसहरू निराश अनुहारले सोध्थे— “अब सेवा सुविधा कहाँ पाउँछौं?” तर जवाफ कोहीसँग थिएन। मैले आन्दोलन सुरु हुनु अघि दिएको चेतावनी बारम्बार कानमा गुन्जिन्थ्यो— “नियन्त्रण बाहिर जान्छ है।” तर त्यो बेलामा कसैले सुनेन। अब सबैले धुवाँ र खरानी मात्र देखिरहेका छन् । म भक्कानिएर रातभर रोएँ— Gen G को आन्दोलनले यो रुप लिन्छ भनेर । तर आन्दोलन त विध्वंशको प्रतिमान बन्यो। रातभर जलेको तुलसीपुर बिहान खरानी र धुवाँमाथि उठ्यो ।

मानिसहरू गल्लीमा हिँड्थे, तर आँखामा प्रश्न बोकेर । यी सम्पत्ति जलाएर के फाइदा भयो? अबका सेवासुविधा कहाँ जाने? नागरिकलाई नक्सा, कर, पासपोर्ट, न्याय, प्रशासन—सबै कहाँ उपलब्ध हुने? राजनीतिक दलको कार्यालय जलेर, नेताहरूको घर भत्काएर, के पाए जनताले जनताको माग यही हो के पायौ हामीले ? तुलसीपुरमा त्यस दिन केवल भवन जलेका थिएनन्। जलेको थियो—जनताको विश्वास। मरेको थियो प्रशासनप्रति भरोसा । राजनीतिक नेतृत्वप्रतिको आस्था । मैले बिहानै दिएको चेतावनी स्मरण हुँदा मनमा पीडाले पोल्छ । यदि त्यतिबेला कसैले सुनेको भए, सायद आज तुलसीपुर धुवाँमा होइन, आशामा ढाकिएको हुने थियो । तर अब प्रश्न मात्र बाँकी छ— “यी क्षतिहरूको क्षतिपूर्ति कसले गर्छ?”

तपाईंको प्रतिक्रिया