सुदूरपश्चिमको दोस्रो जित, पोखराको दोस्रो हार
काठमाडौं । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाएर १७५ रन बनायो ।
पोखराका लागि कुशल भुर्तेलले ५३ रन र जिम्मी निसमले ४७ रन बनाए आउट हुँदा डान डाउथवैटको ३७ रनको योगफल पर्याप्त हुन सकेन। विपिन खत्री, सुमित वर्मा, किरण ठगुन्ना, अभिशेख तिवारी, दिनेश खरेल र एडम रोसिङ्टनले दोहोरो रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि हर्मित सिंह दुई, हेमन्त धामी, दिपेन्द्रसिंह ऐरी, नरेन साउद, स्कट कुग्गेलेजिन र अविनाश बोहराले समान एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्यमा आउट भए। यस्तै इशान पाण्डे र नरेन साउद क्रमश :६ र ४ रनमा नटआउट रहे ।
पोखराका लागि जिम्मी निसम तीन, डान डाउथवैट र आकाश चन्दले समान दुई /दुई विकेट लिए । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले हारेको थियो। यता, सुदूरपश्चिमले अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको थियो ।



तपाईंको प्रतिक्रिया