प्रथम तुलसीपुर महोत्सव आजबाट सुरु हुदै
दाङ । दाङको तुलसीपुरमा आज शुक्रबार देखि ‘प्रथम तुलसीपुर महोत्सव’ सुरु हुँदैछ । “औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष लाल बहादुर केसीले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले गर्नुहुनेछ । उद्घाटनअघि बिहान ११ बजे तुलसीपुर बसपार्कबाट झाँकी जुलुस निकालिने संयोजक केसीले बताउनुभयो । यस पटकको महोत्सवमा ‘लण्डन ब्रिजदेखि जलपरीसम्म’ विभिन्न आकर्षण अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयो । महोत्सव अवधिभर व्यवसायी तथा दर्शकको सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र ड्रोनमार्फत समेत निगरानी गरिने बताइएको छ ।
महोत्सवमा यस पटक होटलका स्टलहरू फरक–फरक आकृतिमा राखिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको महोत्सवमा युवाहरूका लागि बिजनेस आइडिया सेयरिङ कार्यक्रमसमेत राखिएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धनका लागि ५० वटा स्टल किसानलाई निःशुल्क उपलब्ध गराइने र उत्कृष्ट कारोबार गर्ने कृषकलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । साथै, स्थानीय कलाकारलाई प्राथमिकताका साथ प्रस्तुतीकरणको अवसर प्रदान गरिने महासंघका महासचिव भद्रबहादुर वलीले बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ भने विभिन्न प्रतियोगिताहरू समेत आयोजना गरिएको छ ।
महोत्सवमा ‘समृद्ध तुलसीपुर–मेरो दायित्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिने छ । उक्त प्रतियोगितामा २५ वर्ष मुनिका सहभागी हुन सक्ने महासचिव वलीले जानकारी दिनुभयो ।महोत्सवको तयारी पूरा भएको बारे जानकारी दिन बिहिबार बेलुका पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो । महोत्सवमा सहभागी भई अवलोकन गर्न आयोजक संस्थाले सबैलाई आग्रह समेत गरेको छ ।



तपाईंको प्रतिक्रिया