तुलसीपुर महोत्सवमा मंगलवार पशुपती शर्मा आउदै
तुलसीपुर । तुलसीपुरमा जारी महोत्सवमा भोलि पाँचौ दिन चर्चित गायक पशुपति शर्मा आउने भएका छन । प्रथम तुलसीपुर महोत्सवमा गायक शर्मासहित पिताम्बर रिजाल, गायिका शान्ता वली लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । आज महोत्सवको चौथो दिन चर्चित लोक दोहोरी गायक श्याम रानाको विशेष प्रस्तुतिमा हजारौँ दर्शक झुमेका छन् । कार्यक्रमको मुख्य आकर्षण तब बन्यो, जब गायक राना स्टेजको सीमित घेरालाई छाडेर सिधै दर्शक दीर्घामा पुगे । आफ्ना प्रिय कलाकारलाई आफ्नै माझमा पाउँदा दर्शकहरूको उत्साह निकै चुलिएको थियो ।
महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षित गरिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । उहाँले दिनप्रतिदिन महोत्सवमा कारोबारसमेत बढ्दै गएको बताउनुभयो ।
महोत्सवमा जल परीदेखि लण्डनब्रिज पनि दर्शक रोजाइमा पर्ने गरेका छन् । जलपरी र लण्डनब्रिजमा फोटो खिच्ने र भिडियो बनाउनेको निकै भिडभाड हुने गरेको छ । स्थानीय कृषिजन्यवस्तु, हस्तकलाका सामग्रीको कारोबार भइरहेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि शुरु भएको थियो । महोत्सव १९ गतेसम्म संचालन हुने छ ।



तपाईंको प्रतिक्रिया