तुलसीपुर महोत्सवमा पल शाह आउँदा भयो थामिनसक्नु भिड

 पुष १७, २०८२

दाङ ।  दाङको तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित अभिनेता पल शाहको विशेष उपस्थितिले नयाँ रौनक थपेको छ । शाह स्टेजमा आउने खबरसँगै तुलसीपुर र आसपासका क्षेत्रबाट हजारौँको संख्यामा दर्शकहरू महोत्सव स्थलमा ओइरिएपछि स्थिति थामिनसक्नु बनेको हो । लामो समयपछि आफ्नो गृह जिल्ला र सार्वजनिक कार्यक्रममा देखिन लागेका पल शाहलाई प्रत्यक्ष हेर्न र उहाँको प्रस्तुतिमा झुम्न बिहानैदेखि प्रशंसकहरूको भिड लागेको थियो ।

दिउँसोसम्ममा महोत्सवस्थल पूर्णरूपमा ’हाउसफूल’ भएपछि प्रवेशद्वारमा थप कडाइ गर्नुपरेको थियो । दर्शकदीर्घा खचाखच भरिएका कारण गेटबाट भित्र छिर्ने सामान्य ठाउँ समेत बाँकी थिएन, जसका कारण सयौँ दर्शक बाहिरै रोकिनु परेको थियो ।

दर्शकको विशाल उपस्थितिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न खटिएका सुरक्षाकर्मीहरूलाई निकै हम्मेहम्मे परेको थियो । भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीले कडा मिहिनेत गर्नुपरेको थियो । स्टेज वरपर र स्टेजमा समेत दर्शकको चाप थेगिनसक्नु भएपछि केही बेर कार्यक्रम सञ्चालनमा समेत कठिनाइ भएको थियो ।

जब अभिनेता पल शाह स्टेजमा उक्लिए, तब दर्शकहरूको हुटिङ र तालीले पूरा तुलसीपुर गुञ्जायमान बनेको थियो । शाहले आफ्ना चर्चित गीतहरूमा संक्षिप्त नृत्य र प्रस्तुति दिँदा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए ।

महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले दर्शकको उपस्थिति अहिलेसम्मकै धेरै देखिएको बताउनुभयो ।

महोत्सवमा आज १४ औँ दिन नायक पल शाहसंगै माेडल नारायणि खत्रि, अाशा बिश्वकर्मा, गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्का लगायतको प्रस्तुति रहेको थियो । महोत्सवमा भोलि चर्चित गायिका शान्ति श्री परियारको प्रस्तुति रहने सांस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि ‘प्रथम तुलसीपुर महोत्सव’ संचालन भइरहेको छ । महोत्सव १९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया