दाङ क्षेत्र नं ३ मा एमालेबाट टिकट पाउने घनश्याम पाण्डे
तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले टिकट पाउनु भएको छ । नेकपा एमालेको सचिवालय वैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाण्डेलाई उम्मेदवारी बनाउने निर्णय गरेको हो । नेकपा एमाले दाङले उम्मेदवारका लागि क्षेत्र नं ३ बाट पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, धमकली चौधरी र पाण्डेको सिफारिस गरेको थियो ।
को हुन घनश्याम पाण्डे ?
नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डे सामाजिक राजनीतिक र वातावरणको क्षेत्रमा तिन दशक देखि निरन्तर क्रियाशिल अथक योद्धा हुन् । २०३० भदौ ८ गते टेकवहादुर पाण्डे र अमृता पाण्डेको पहिलो सन्तानका रुपमा तुलसीपुर उप महानगरपालिका ८ अश्वारामा जन्मिएका पाण्डेले ग्रामिण विकासमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् भने विएस्सी र एल.एल.वी. सम्मको समेत अध्ययन पुरा गरेका छन् ।
२०४३ सालमा मावि भ्युडहर सुनपुरमा अध्ययन गर्दा अनेरास्ववियुमा संलग्न भएर एमालेको राजनीतिमा प्रवेश गरेका पाण्डेले २०४६ सालको जन आन्दोलनमा अग्रणी भुमिका समेत निर्वाह गरेका थिए । २०४६ सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्य भएका पाण्डेले २०४७ सालमा पाटीको सदस्यता समेत प्राप्त गरेका थिए । मावि हंसपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेका पाण्डेले त्रिभुवन वहुमुखी क्याम्पस पाल्पाबाट वि.एस्सी. सम्मको अध्ययन गरेका छन् । पाल्पामा अध्ययन गर्दा कुशल संगठकको परिचय वनाएका उनी सोही क्याम्पसमा २०५२ मा स्ववियु उपसभापति समेत भएका हुन् ।
विभिन्न समयमा सरकारी र नीजि विद्यालयमा अध्यापन गराएका पाण्डेले २०५४ सालको स्थानीय निकायको चुनावमा २३ वर्षको कलिलो उमेरमा तुलसीपुर उप महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका थिए । तुलसीपुर उप महानगरपालिकाको उप मेयरका रुपमा यस क्षेत्रमा केही नयाँ र जनप्रिय काम गरेका पाण्डे त्यतिवेला नै जनताका माझमा निकै लोकप्रिय थिए ।
नेपालमा भर्खरै विकासका क्रममा रहेको सामुदायिक वनको क्षेत्रमा केन्द्रीय सदस्य हुदै अध्यक्ष सम्म भएका पाण्डे विश्वभर सामुदायिक वनको विज्ञका रुपमा समेत परिचित छन् । वनकै मुद्दालाई स्थापित गर्नका लागि विश्वका ५० भन्दा वढि देश पुगिसकेका पाण्डेले संयुक्त राष्ट्रसंघको महासभामा समेत सामुदायिक वनको मुद्दालाई उठाइसकेका छन् । २०६२/६३ को जनआन्दोलनमा १ महिना प्रहरी हिरासतमा समेत परेका पाण्डे २०६२ सालमा एमाले दाङको जिल्ला कमिटी सदस्य समेत भएका थिए ।
२०६४ सालमा एमालेको प्राकृतिक स्रोत विभागको केन्द्रीय सदस्य समेत भएका पाण्डे अहिले अखिल नेपाल किसान महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । सहकारी तथा गरिवी निवारण विभागको केन्द्रीय सदस्यका रुपमा क्रियाशिल उनी सामुदायिक सञ्चार, शिक्षा, वैक तथा वित्तिय विकास, कृषि तथा वजारीकरण लगायतका क्षेत्रमा लामो समयदेखि क्रियाशिल हुँदै आएका छन् ।
नेपाली,अँग्रेजी,हिन्दी र थारु भाषामा विशेष दख्खल राख्ने पाण्डेले २०७४ मा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा ३९ सय ५४ मतको फराकिलो मताअन्तरले प्रतिद्धन्दीलाई पछि पार्दै विजयी भएका थिए । तुलसीपुर उप महानगरलाई ५ वर्षको कार्यकालमा मेट्रो कलेज, मेट्रो हस्पिटल, व्यवस्थीत तुलसीपुर बस पार्क, तुलसीपुर तरकारी बजार, अटोभिलेज, अवरुद्ध टरिगाउँ विमान स्थल, संचालन, इन्धन डिपो निर्माण, सुत्केरी भत्ता, स्मार्ट छोरी जस्ता दिर्घकालिन र लोकप्रिय कार्यक्रमका कारण उनी जनताको मनमस्तिस्कमा बस्न सफल छन् ।


तपाईंको प्रतिक्रिया