श्वास्थ्य संस्थालाई जनताको भरोसाको केन्द्र बनाउने पाण्डेकाे उद्घाेष
दाङ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. ३ का तर्फबाट उम्मेदवार घनश्याम पाण्डेले बबई गाउँपालिकाका सातै वडामा रहेका स्वास्थ्य केन्द्र र पालिका अस्पताललाई जनताको भरोसाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। नेकपा एमाले बबई गाउँ कमिटीको आयोजनामा सम्पन्न वृहद् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाण्डेले स्वास्थ्य सेवा कुनै सुविधा मात्र नभई राज्यको आधारभूत जिम्मेवारी भएको उल्लेख गरे ।
तुलसीपुरका पूर्व नगर प्रमुख समेत रहेका उनले स्थानीय तहमा नेतृत्व गर्दा स्वास्थ्य क्षेत्रमा हासिल गरिएका ठोस उपलब्धिहरू स्मरण गराउँदै अब बबईमा पनि गुणस्तरीय, सुलभ र निरन्तर सेवा प्रवाह सुनिश्चित गरिने बताए । “सामान्य उपचारदेखि आकस्मिक सेवासम्म गाउँमै उपलब्ध हुने व्यवस्था मिलाइन्छ। जनताले उपचारकै लागि सहर धाउनुपर्ने बाध्यता अन्त्य गरिनेछ,” पाण्डेले भने । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली, केन्द्रीय लेखा आयोग सदस्य हिरा चन्द्र केसी, दाङका पूर्व जिल्ला अध्यक्ष हुकुम बस्नेत तथा जिल्ला उपसचिव भुवनेश्वरी पौडेल लगायतका नेताहरूले मन्तव्य राख्दै घनश्याम पाण्डे परिणाममुखी, अनुभवी र जनउत्तरदायी नेतृत्व भएको बताए ।
उनीहरूले दाङ निर्वाचन क्षेत्र नं। ३ को विकास र स्थायित्वका लागि घनश्याम पाण्डे उपयुक्त उम्मेदवार भएको उल्लेख गर्दै एमालेको जित सुनिश्चित गर्न सम्पूर्ण कार्यकर्ता पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे । वृहत कार्यकर्ता भेलामा बबई गाउँपालिकाका विभिन्न वडाबाट आएका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



तपाईंको प्रतिक्रिया