सामुदायीक विद्यालयको सान, मावि सेण्टरको ५५औँ वार्षिकोत्सव

 माघ १४, २०८२

तुलसीपुर । दाङको तुलसीपुर -६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले स्थापनाको ५५औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै स्थानीय तहले सामुदायिक विद्यालय सुदृढीकरणका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले प्राविधिक तथा व्यवहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा तुलसीपुर सेन्टर माविको भूमिका प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अवस्था सार्वजनिक गरका थिए । हाल विद्यालयमा साधारण, प्राविधिक गरी २ हजार ५ सय ८८ विद्यार्थी अध्ययनरत छन् । साधारण धारमा शिशु कक्षादेखि कक्षा १० सम्म ९नेपाली तथा अंग्रेजी माध्यम० अध्ययन हुँदै आएको छ भने प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियरिङ, सूचना प्रविधि, जियोमेटिक्ससहित व्यवस्थापन, विज्ञान र शिक्षा संकाय सञ्चालनमा छन् ।

विद्यालयमा ९६ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्, जसमा सरकारी, निजी स्रोत तथा आंशिक शिक्षक समावेश छन् । शैक्षिक उपलब्धिका आधारमा विद्यालयको औसत जिपिए २।८४ रहेको छ । २०८१ सालको एसईई परीक्षामा २५४ मध्ये २२४ विद्यार्थी उत्तीर्ण भएका थिए भने कक्षा १२ मा १७७ मध्ये १४१ विद्यार्थी उत्तीर्ण भएका छन् । डिप्लोमा तहमा समेत उत्कृष्ट नतिजा हासिल भएको विद्यालयले जनाएको छ ।

आर्थिक पक्षमा विद्यालयले प्राविधिक धारबाट प्राप्त आम्दानीमार्फत साधारण धारको खर्च व्यवस्थापन गर्दै आएको छ । साथै, १२ कठ्ठा जग्गा भाडामा दिई दिगो आयस्रोतको व्यवस्था गरिएको छ । शैक्षिक सुधारका लागि विद्यालयमा सीसीटीभी विस्तार, काउन्सलर व्यवस्था, अतिरिक्त कक्षा सञ्चालन, खेलकुद तथा संगीत प्रशिक्षण, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा र पोशाक वितरणजस्ता कार्यक्रम लागू गरिएका छन् ।

आगामी दिनमा शैक्षिक उपलब्धि ५ प्रतिशतले वृद्धि गर्ने, डिप बोरिङमार्फत खानेपानी समस्या समाधान गर्ने, नयाँ भवन निर्माण तथा विद्यार्थी उपस्थिति वृद्धि गर्ने लक्ष्य विद्यालयले अघि सारेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतले विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने अभिभावक, शिक्षक, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश, तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख ढुन्डीराज लामिछाने लगायतले बोलेका थिए । वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रदर्शन तथा विद्यालयका उपलब्धिबारे जानकारी प्रस्तुत गरिएको थियो ।

विद्यालयले २०८१ सालको राष्ट्रिय शिक्षा दिवसमा देशकै सर्वोत्कृष्ट प्रथम पुरस्कार प्राप्त गरेको थियो । २०२७ साल माघ १० गते स्थापना भएको विद्यालयले आधा शताब्दीभन्दा बढी समयदेखि दाङ सहित रोल्पा, रुकुम र सल्यानका विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ । विद्यालय ब्यवस्थापन समितिका शिक्षक प्रतिनिधि नरेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।

तपाईंको प्रतिक्रिया