उपमहानगरद्धारा ट्राफिक प्रहरीलाई मापसे परीक्षण गर्न ब्रेथलाइजर मेशिन प्रदान
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले मापसे गरी सवारी साधन चलाउने चालकको चेकजाँचलाई प्रभावकारी बनाउन प्रहरीलाई ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ । पालिकाको वार्षिक कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई मेसिन हस्तान्तरण गरेको पालिकाले जनाएको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सवारी दुर्घटना न्यूनीकरण र बजार तथा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सहयोग पुर्याउने उद्देश्यले ब्रेथलाइजर मेसिन सहयोग गरिएको बताउनुभयो । तुलसीपुर क्षेत्रमा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न र मापसे गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न यो मेसिन उपयोगी हुने उहाँको भनाई छ । यसले नगरको शान्ति–सुरक्षा र बजार व्यवस्थापनमा प्रहरीलाई थप सहयोग पुग्ने विश्वास लिएको नगर प्रमुख खड्काले बताउनुभयो ।
यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले उपमहानगरपालिकाले नयाँ मेसिन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । डिएसपी पराजुलीले तुलसीपुर उपमहानगरपालिकाले शान्ति–सुरक्षालाई मध्यनजर गर्दै प्रहरीलाई आवश्यक उपकरण सहयोग गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा यसको प्रयोग अझ प्रभावकारी हुने बताउनुभयो ।



तपाईंको प्रतिक्रिया