परिवार सँग बिछोडिएका शाही ६ महिनापछि घर फर्किए
ओमप्रकाश गुप्ता, दाङ । मानव सेवाभन्दा ठूलो धर्म अरू केही छैन भन्ने भनाइलाई व्यवहारमा उतार्दै दाङको लमहीबाट उद्धार गरिएका एक युवकलाई पुनः परिवारसँग पुनर्मिलन गराइएको छ । कालीकोट जिल्लाको डाहा घर भएका दमन शाहीलाई करिब ६ महिना अघि लमही क्षेत्रबाट उद्धार गरी नीलसागर सेवा आश्रम राप्ती गाउँपालिकामा आश्रय दिइएको थियो । लामो समय सम्म आश्रमको संरक्षणमा राखी हेरचाह तथा आवश्यक सहयोग प्रदान गरिएपछि अन्ततः उहाँलाई परिवारको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको छ।
६ महिना अघि दमन शाही सडकमा भौतारिएर हिडिरहेको अवस्थामा लमही क्षेत्रमा भेटिनु भएको थियो। पारिवारिक सम्पर्क विच्छेद भएको र घरपरिवारको ठेगाना समेत स्पष्ट नभएको अवस्थामा उहाँलाई सुरक्षित स्थानमा राखी आवश्यक खानपान, बसोबास, स्वास्थ्य जाँच तथा मानसिक परामर्शको व्यवस्था गरिएको थियो। नीलसागर सेवा आश्रमले उहाँको संरक्षण गर्दै निरन्तर परिवारको खोजी कार्य अगाडि बढाएको थियो।
आश्रमको पहल, स्थानीय समाजसेवीहरूको सक्रियता तथा सञ्चारकर्मीहरूको सहयोगले अन्ततः दमन शाहीको परिवारसँग सम्पर्क स्थापित गर्न सफल भयो। परिवारको पहिचान भएसँगै समन्वय गरी उहाँका भिनाजु क्षेत्र बहादुर बम र भान्जा राजेश बम दाङ आइपुग्नु भयो। आवश्यक कागजी प्रक्रिया तथा पहिचान पुष्टि गरेपछि दमन शाहीलाई उहाँहरूको जिम्मा लगाउँदै भावुक वातावरणबीच पारिवारिक पुनर्मिलन सम्पन्न गरिएको हो।
पुनर्मिलनको क्षण अत्यन्त हर्षोल्लासपूर्ण र भावनात्मक बनेको थियो। लामो समयपछि आफन्त भेट्दा दमन शाही र उहाँका परिवारजनको आँखामा खुशीका आँसु देखिन्थे। परिवारजनले संस्थाप्रति आभार व्यक्त गर्दै भने, “हामीले आफन्त गुमायौं कि भन्ने चिन्ता थियो। तर यहाँको सहयोगले उहाँ सुरक्षित हुनुहुन्थ्यो भन्ने थाहा पाउँदा ठूलो राहत मिल्यो।” नीलसागरका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले असहाय, बेसहारा तथा परिवारबाट विच्छेद भएका व्यक्तिहरूलाई सुरक्षित आश्रय उपलब्ध गराउनु आफ्नो कर्तव्य भएको बताए। उनीहरूले भने, “हाम्रो उद्देश्य केवल संरक्षण होइन, सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराउनु हो। परिवारको साथ नै व्यक्तिको सबैभन्दा ठूलो शक्ति हो।”
यस मानवीय कार्यमा सहयोग पुर्याउने सञ्चारकर्मीहरू सन्तोष कुमार गुप्ता, ओमप्रकाश गुप्ता र दीपक ओलीप्रति संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ। परिवारको खोजी, सम्पर्क समन्वय र पुनर्मिलन प्रक्रियामा उहाँहरूको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ। स्थानीय तहमा सक्रिय सामाजिक अभियन्ताहरू र सञ्चारकर्मीहरूको समन्वयले यस्ता कार्यहरूलाई सफल बनाउन थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ।
दमन शाहीको उद्धारदेखि पुनर्मिलनसम्मको यात्रा सहज थिएन। प्रारम्भिक अवस्थामा उहाँको मानसिक र शारीरिक अवस्था कमजोर रहेको बताइएको छ। नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा मनोपरामर्शले उहाँमा सकारात्मक परिवर्तन ल्याएको थियो। संस्थाले उहाँलाई आत्मविश्वास जगाउन र सामाजिक वातावरणमा पुनः घुलमिल हुन सहयोग पुर्याएको थियो। परिवारसँग पुनर्मिलनपछि दमन शाहीलाई सुरक्षित रूपमा घर पठाइएको छ। परिवारजनले अबदेखि उहाँको उचित हेरचाह गर्ने प्रतिबद्धता जनाएका छन्।



तपाईंको प्रतिक्रिया