रगत अभाव हुन नदिन रक्तदान
दाङ । दाङको घोराही उपमहानगरपालिका–११ खैरा स्थित दुर्गादेवी शिव मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा रगत अभाव बढ्दै गइरहेका बेला बिरामीहरूले उपचारका क्रममा थप जोखिम मोल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै मन्दिरले सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
दुर्गादेवी शिव मन्दिर र दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा समूहको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र घोराहीले प्राविधिक सहयोग प्रदान गरेको थियो। मन्दिर व्यवस्थापन समिति र दुर्गादेवी जुम्बा व्यायामशाला परिवारको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जुम्बा व्यायामशालाका सदस्य तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दोर्ण केसीका अनुसार जिल्लामा पछिल्लो समय रगत अभावको समस्या बढ्दै गएको छ। रगतको अभावका कारण उपचाररत बिरामीहरू जोखिममा पर्ने अवस्था सिर्जना भएकाले मानवीय सेवाको भावनाले प्रेरित भएर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।
“रगत अभावका कारण धेरै बिरामीहरूको ज्यान जोखिममा पर्न सक्छ। यस्तो अवस्थाबाट बिरामीलाई जोगाउन र समाजमा रक्तदानको महत्त्वबारे सचेतना फैलाउन पनि यो कार्यक्रम गरिएको हो,” अध्यक्ष केसीले बताए। कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, स्थानीय समाजसेवी, जुम्बा व्यायामशालाका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त रक्तदान कार्यक्रममा जम्मा ३९ जनाले रक्तदान गरेकाेजुम्वा संयोजक ताेरण अधिकारिले जानकारी दिएका छन्।
सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको दुर्गादेवी शिव मन्दिरले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ। स्थानीय स्तरमा आयोजना गरिएको यस रक्तदान कार्यक्रमले रगत अभावको समस्या केही हदसम्म समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



तपाईंको प्रतिक्रिया