तुलसीपुर– १५ करङ्गामा ‘कृषि हाट बजार केन्द्र’ उद्घाटन

 ४ घण्टा अगाडि

 

तुलसीपुर, शरद शर्मा मजगैया | तुलसीपुर उपमहानगरपालिका–१५ करङ्गा चोकमा स्थापना गरिएको “कृषि हाट बजार केन्द्र” शनिबार बिहान एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। “हाम्रो हाट बजार, स्थानीय उत्पादनको भण्डार” भन्ने नारासहित सञ्चालनमा आएको यस केन्द्रले स्थानीय कृषकका उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्य लिएको छ।

मलवार सहकारी संस्था (तुलसीपुर–१५, मलवार) र गुहारखोला कृषि सहकारी संस्था (तुलसीपुर–१४, करङ्गा) को संयुक्त आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय कृषक, सहकारीकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्षता गर्दै गुहारखोला कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मणकुमार शर्माले हाट बजार केन्द्र स्थापनाले किसानका उत्पादनलाई उचित मूल्य दिलाउने र बजार अभावको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो  किसानले उत्पादन गरेपछि बेच्ने ठाउँ नपाउँदा निराश हुनुपर्ने अवस्था अब हट्नेछ। यो हाट बजारले किसान र उपभोक्ताबीच सिधा सम्बन्ध स्थापित गर्नेछ। वडा नम्बर १४ र १५ का सम्पूर्ण बासिन्दालाई यस केन्द्रको अधिकतम उपयोग गर्न हार्दिक अनुरोध गर्दछु।”

कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर–१४ का वडा अध्यक्ष शंकर खड्काले स्थानीय उत्पादनको प्रवर्द्धन नै दिगो विकासको आधार भएको उल्लेख गर्दै यस्ता पहललाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हामीले आफ्नै ठाउँमा उत्पादन भएको वस्तुलाई प्राथमिकता दिनुपर्छ। यसले किसानलाई प्रोत्साहन दिनुका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँछ।”

त्यसैगरी तुलसीपुर–१५ का वडा अध्यक्ष लक्ष्मण चौधरीले हाट बजार केन्द्रले किसान र उपभोक्ताबीचको दूरी घटाउने र बिचौलियाको प्रभाव न्यून गर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, अब किसानले आफ्नो पसिना अनुसारको मूल्य पाउने वातावरण बनेको छ। उपभोक्ताले पनि ताजा र गुणस्तरीय उत्पादन सहजै प्राप्त गर्नेछन्, जुन निकै सकारात्मक पक्ष हो।”

स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायत कृषि उपजलाई व्यवस्थित रूपमा बिक्री वितरण गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यस केन्द्रले स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, कृषकलाई आत्मनिर्भर बनाउने तथा कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। प्रत्येक शनिबार बिहान ७ बजेदेखि कृषि हाट बजार सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण गुहारखोला सहकारी संस्थाका सचिव टंक प्रभात केसीले गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया