सामुदायिक वन उत्पादनको लेबलिङ, ब्रान्डिङ र प्रमाणीकरण सम्बन्धि तालिम

 १२ घण्टा अगाडि

दाङ । “सामुदायिक वन उत्पादनको लेबलिङ, ब्रान्डिङ र प्रमाणीकरणमा उत्पादक समूहको क्षमता अभिवृद्धि तालिम” आज सम्पन्न भएको छ। दंगीशरण गाउँपालिकामा सामुदायिक वनमा आधारित उद्यमहरुको दिगो विकास तथा उत्पादित सामग्रीको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम FFF-FAO र हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा  बैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन गरिएको थियो।

तालिम समापन कार्यक्रम हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष राजेन्द्र घर्तीको अध्यक्षता तथा   दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी वली खड्काकाे  प्रमुख आतिथ्यता एवम् गाउपालिका सहकारी तथा उद्योग शाखाका प्रमुख यादव बहादुर डाँगी विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान, गुणस्तर र सीपले स्थानीय उत्पादनलाई बजार प्रतिस्पर्धी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। यसअन्तर्गत बैशाख २९ गते सदस्यहरुलाई “मूल्य निर्धारण तथा लागत न्यूनीकरण रणनीति” सम्बन्धी एकदिने तालिम प्रदान गरिएको थियो। उक्त कार्यक्रममा उत्पादन लागत घटाउने उपाय, वस्तुको उचित मूल्य निर्धारण गर्ने प्रक्रिया तथा बजारअनुकूल व्यवसाय सञ्चालन सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो। त्यसैगरी बैशाख ३० गते “मानक सञ्चालन प्रक्रिया, सुरक्षा उपाय तथा गुणस्तर व्यवस्थापन” सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा उद्यम सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड, उत्पादनको गुणस्तर कायम गर्ने उपाय तथा व्यवस्थित उत्पादन प्रक्रियाका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो।
बैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको तीनदिने मुख्य तालिममा सामुदायिक वनजन्य उत्पादनको लेबलिङ, ब्रान्डिङ र प्रमाणीकरणका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरुलाई पहिचानसहित बजारमा स्थापित गर्न, उत्पादनमा विश्वास बढाउन तथा उपभोक्तामाझ स्थानीय उत्पादनको पहुँच विस्तार गर्न ब्रान्डिङ र प्रमाणीकरणको आवश्यकता रहेको विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो।

विशेषगरी हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालन हुँदै आएका दुनाटपरी तथा ढकिया उद्योगहरुलाई दिगो, व्यवस्थित र व्यवसायिक बनाउने उद्देश्यले यी कार्यक्रमहरु सञ्चालन गरिएको संस्थाको सचिव ईन्द्रा कुमारी घर्तिले जनाउनु भएको छ ।

तालिमले स्थानीय स्रोत, सीप र कच्चा पदार्थमा आधारित उद्यमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विशेषज्ञ प्रशिक्षक निर्मल सिग्देलले सहजीकरण गर्नुभएको थियो। उहाँले स्थानीय उत्पादनलाई गुणस्तरीय, आकर्षक तथा बजारमैत्री बनाउन लेबलिङ र ब्रान्डिङको महत्वपूर्ण भूमिका रहने बताउँदै उत्पादनको प्रमाणीकरणले उपभोक्ताको विश्वास जित्न मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो। सहभागीहरुले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिनुभएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पिमा कुमारी वली खड्काले स्थानीय उद्यम र सहकारीमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताउनुभयाे ।
त्यसैगरी अध्यक्ष राजेन्द्र घर्तीले सहकारीमार्फत सञ्चालित उद्यमहरुको दिगोपनाका लागि सीप, गुणस्तर र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा समेत सदस्यहरुको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

उक्त तालिममा सहकारीका सदस्य, उत्पादक समूहका प्रतिनिधि तथा स्थानीय उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार तालिमबाट प्राप्त ज्ञान र अनुभवले स्थानीय वनजन्य उत्पादनलाई प्रतिस्पर्धी, व्यवसायिक तथा दिगो बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

तपाईंको प्रतिक्रिया