दाङको राजाकोट सामुदायिक वनमा बृहत् वृक्षारोपण: ११ सयभन्दा बढीको सहभागिता

 २ घण्टा अगाडि

दाङ । दाङको दंगीशरण गाउँपालिका २ स्थित राजाकोट सामुदायिक वनमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा उक्त वृक्षारोपण सम्पन्न भएको हो।

कार्यक्रम दंगीशरण गाउँपालिका, वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफान) दाङ, ग्रिन फाउन्डेसन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर र ज्ञानोदय ईङ्गलिस बोर्डिङ स्कुलको सहकार्यमा सञ्चालन गरिएको थियो।

राजाकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि रहेका थिए। त्यसैगरी, दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्का र फेकोफानका पूर्व केन्द्रीय अध्यक्ष एवं ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

एक दशकपछिकै अभूतपूर्व जनसहभागिता

वृक्षारोपण कार्यक्रममा स्थानीयवासी र सरोकारवालाहरूको ठूलो उत्साह देखिएको थियो। एक दशकपछि राजाकोट सामुदायिक वनमा १,१०० भन्दा बढी मानिसहरूको उपस्थिति, एकता र अपनत्वले वन संरक्षण अभियानमा नयाँ ऊर्जा र उत्साह थपेको आयोजकले जनाएको छ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मान बहादुर रावत, दंगीशरण गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारी, दंगीशरण सब-डिभिजन वन कार्यालयका प्रमुख खिम बहादुर के.सी., भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका वरिष्ठ भू-संरक्षण अधिकृत राकेश शाही, गाउँपालिका वन तथा वातावरण समितिकी संयोजक मिना चौधरी र फेकोफान दाङका सह-सचिव भुप बहादुर केसी लगायतको उपस्थिति थियो।

यसैगरी, सुरक्षा निकायबाट नेपाल प्रहरी, विद्यार्थी, जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, वनकर्मी र सामुदायिक वनका आम उपभोक्ताहरूको स्वतःस्फूर्त र बाक्लो उपस्थिति रहेको थियो।

बिरुवाको दिगो संरक्षणमा प्रतिबद्धता

कार्यक्रमका वक्ताहरूले रोपिएका बिरुवाहरू भावी पुस्ताको भविष्य र हरित समृद्धिको आधार भएको बताएका छन्। बिरुवा रोप्नु मात्र ठूलो कुरा नभई तिनको संरक्षण, हेरचाह र दिगो व्यवस्थापन गर्नु मुख्य दायित्व भएको भन्दै आगामी दिनमा पनि यही किसिमको सहकार्य र सक्रियता निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

राजाकोट सामुदायिक वन उपभोक्ता समूहले हरियाली संरक्षण र समृद्ध सामुदायिक वन निर्माणको अभियानमा हातेमालो गर्ने सम्पूर्ण संघसंस्था, अतिथि एवं स्थानीय उपभोक्ताहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।

राजाकाेट  सामुदायिक वनमा वन उद्यमको सम्भावना, प्राकृतिक सौन्दर्य तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सम्भावना छ।  राजाकोट टावरसम्म पदयात्रा गर्दै वन क्षेत्रको प्राकृतिक सम्पदा, पर्यापर्यटन र स्थानीय उद्यम विकासले त्यस क्षेत्रमा अार्थिक रुपमा टेवा पुग्ने देखिन्छ  ।   

तपाईंको प्रतिक्रिया