तुलसीपुर दमकल खरिद : आवश्यक मापदण्ड पूरा गर्ने बोलपत्र नपरेपछि प्रक्रिया रद्द
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि अघि बढाएको प्रक्रिया रद्द गरेको छ। दमकल खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पेश भएका बोलपत्रमध्ये कुनै पनि बोलपत्रले आवश्यक मापदण्ड पूरा नगरेपछि प्रक्रिया रद्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।
खरिद इकाई प्रमुख हिमालय शर्माले जारी गरेको सूचनाअनुसार कार्यालयको असोज ८ गतेको निर्णयबाट दमकल खरिदसम्बन्धी कारबाही रद्द गरिएको हो। प्राविधिकसहित आवश्यक मापदण्ड पूरा गर्ने बोलपत्र नपरेपछि खरिद प्रक्रिया रद्द गर्नुपरेको कार्यालयले जनाएको छ।
प्रक्रिया रद्द भएसँगै उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि पुनः प्रक्रिया अघि बढाउनुपर्ने भएको छ। यसले तत्काल नयाँ दमकल आउने अपेक्षा थप अनिश्चित बनेको छ।
गत वर्ष भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनीमा परी तुलसीपुर उपमहानगरपालिकाको दमकल पूर्ण रूपमा जलेर नष्ट भएको थियो। त्यसयता तुलसीपुर दमकलविहीन अवस्थामा छ।
पश्चिम दाङका चार स्थानीय तहमध्ये तुलसीपुरमा मात्रै दमकल सञ्चालनमा थियो। तुलसीपुरको दमकल नहुँदा अहिले पश्चिम दाङका चारवटै स्थानीय तह दमकलविहीन भएका छन्।
आगलागीका घटना हुँदा तत्काल नियन्त्रणका लागि आफ्नै क्षेत्रमा दमकल उपलब्ध नहुँदा घोराहीबाट दमकल बोलाउनुपर्ने अवस्था छ। घोराहीबाट दमकल आउन समय लाग्ने भएकाले आगलागी नियन्त्रणमा ढिलाइ भई थप क्षति हुनसक्ने जोखिम रहेको छ।
दमकल खरिदमा भइरहेको ढिलाइप्रति नागरिकस्तरबाट समेत चासो बढ्दै गएको छ। स्थानीयले आपतकालीन अवस्थामा आवश्यक पर्ने दमकलको व्यवस्था छिटो गर्न माग गरेका छन्।




तपाईंको प्रतिक्रिया