भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका खुमबहादुरको तस्बिर सरकारी कार्यकक्षमा
दाङ । घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफ्नो कार्यकक्षमा कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको तस्बिर राखेपछि यस विषयले चर्चा पाएको छ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष शाहले प्रधानमन्त्री बालेन शाह र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरसँगै खुमबहादुरको तस्बिर पनि आफ्नो कार्यकक्षमा राखेका हुन्।
उनले कार्यकक्षमा खिचेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। पोस्टमा केहीले उनको कदमको सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेताको तस्बिर सरकारी कार्यकक्षमा राख्नु उचित नभएको टिप्पणी गरेका छन्।
वडाध्यक्ष शाहले भने खुमबहादुर खड्काले दाङको विकास र यहाँका जनताका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै उनको तस्बिर राखेको बताएका छन्। खड्का कांग्रेसका नेता भए पनि समस्या लिएर जाने व्यक्तिलाई दलगत आधारमा भेदभाव नगर्ने नेता भएको उनको भनाइ छ।
यता, घोराहीका मेयर नरुलाल चौधरीले सरकारी कार्यकक्षमा दलविशेषका नेताको तस्बिर राख्नु उचित नहुने बताएका छन्। सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने चलन रहेको उल्लेख गर्दै उनले नेताका व्यक्तिगत तस्बिर निजी घरमा राख्न सकिने तर सरकारी कार्यालयमा राख्नु उपयुक्त नहुने धारणा राखेका छन्।
एमालेबाटै निर्वाचित मेयर नरुलाल चौधरीसँग विवाद भएसँगै उनी निलम्बनमा परेका थिए । पार्टीले पनि उनलाई अनुशासनको कारबाही गरेको थियो तर पछि अदालतबाट पुनःबहाली भएर पुनः कार्यालय पुगेका थिए ।



तपाईंको प्रतिक्रिया