पेट्रोल छर्केर आगो लगाइएका रुपलालको उपचारका क्रममा मृत्यु

 कार्तिक ३०, २०८३

दाङ, २९ कार्तिक । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ निवासी ४९ वर्षीय रुपलाल चौधरी रहेका छन् । उनको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः२० बजे राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए । घटनामा चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

घटनालगत्तै घाइते चौधरीलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो ।

घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया