तुलसीपुरका विद्यालयलाई कक्षा १-५ सम्म लिखित परीक्षा नलिन निर्देशन

 ८ मिनेट अगाडि

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आधारभूत तहका विद्यालयमा कक्षा १ देखि ५ सम्म लिखित परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको हो ।शिक्षा  महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूले आधारभूत तह कक्षा १ देखि ५ सम्म लिखित परीक्षा सञ्चालन गरेको भन्ने विषयमा गुनासो प्राप्त भएको उल्लेख छ । पत्रमा नेपाल सरकारले प्राथमिक तह कक्षा ५ सम्म लिखित जाँच नलिने र निरन्तर मूल्याङ्कन परियोजना कार्य एवं दैनिक क्रियाकलापका आधारमा माथिल्लो कक्षामा उतीर्ण गराउने व्यवस्था गरेको स्मरण गराइएको तर, उक्त व्यवस्थाविपरीत विद्यालयहरूले विद्यार्थीलाई पुरानै तरिकाले लिखित परीक्षा सञ्चालन गरी माथिल्लो कक्षामा उतीर्ण गराउने गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सरकारमार्फत उजुरी परेको पत्रमा उल्लेख छ ।

उक्त गुनासोका आधारमा उपमहानगरपालिकाले विद्यालयहरूलाई सरकारको निर्णय कार्यान्वयन गर्न र आधारभूत तह कक्षा १ देखि ५ सम्म लिखित परीक्षा सञ्चालन नगर्न अनुरोध गरेको छ । अन्यथा कानुनबमोजिम हुने व्यहोरासमेत जानकारी गराइएको छ ।

तपाईंको प्रतिक्रिया