उरहरी–डबरा–बेल्टाकुरा–मोतिपुर–सुकौरा सडक कालोपत्रे हुने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–११ अन्तर्गत उरहरी–डबरा–बेल्टाकुरा–मोतिपुर–सुकौरा सडक कालोपत्रे गर्न रु ४ करोड ३५ लाख बजेट सुनिश्चित भएको छ। लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत बहुवर्षीय (दुई वर्षभित्र सम्पन्न हुने) योजनाका रूपमा उक्त सडक स्तरोन्नति तथा कालोपत्रे गरिने भएको हो।
योजनाअनुसार कुल लागतको ४० प्रतिशत बजेट लुम्बिनी प्रदेश सरकारले र ६० प्रतिशत बजेट तुलसीपुर उपमहानगरपालिकाले व्यहोर्नेछ। सडक कालोपत्रे भएपछि स्थानीयवासीको आवतजावत सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष मानबहादुर रावतको भनाइ छ ।
वडा तथा सरोकारवालाले बजेट सुनिश्चितताका लागि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, लुम्बिनी प्रदेश सरकार तथा भौतिक पूर्वाधार विकास मन्त्रालयप्रति आभार व्यक्त गरेका छन्।
यसअघि पनि तुलसीपुर–११ का विभिन्न विकास आयोजनाका लागि उल्लेख्य बजेट व्यवस्थापन गरिएको थियो। ऐतिहासिक दंगीशरण थारु राजाको दरबार संरक्षण तथा विकास र क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित भइसकेको छ।
वडा अध्यक्ष मानबहादुर रावतको पहलमा पछिल्लो समय वडामा सडक, पुल, खानेपानी, शिक्षा तथा पर्यटन क्षेत्रका विभिन्न योजनाहरू अघि बढिरहेका छन्। विकास निर्माणका काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका रावत बजेट व्यवस्थापन र विकास गतिविधिका हिसाबले तुलसीपुरका १९ वटै वडामध्ये अग्रपंक्तिमा देखिने गरेका छन्।
स्थानीयवासीले पनि वडा नम्बर ११ मा पछिल्ला वर्षहरूमा पूर्वाधार विकासले गति लिएको भन्दै खुसी व्यक्त गरेका छन्। सडक, पुल, खानेपानी, शिक्षा तथा पर्यटन क्षेत्रका योजनाले ग्रामीण बस्तीको मुहार फेरिन थालेको उनीहरूको भनाइ छ।



तपाईंको प्रतिक्रिया