तुलसीपुरमा चालु वर्षमा १५ किलोमिटर सडक कालोपत्रे
तुलसीपुर । तुलसीपुर उपमहानगरले चालु आर्थिक वर्षमा सडक, नाला तथा वडा कार्यालय भवन निर्माणका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। स्थानीय सरकारद्वारा सञ्चालित विभिन्न पूर्वाधार योजनाहरू अन्तर्गत सडक कालोपत्रे, पक्की नाला निर्माण तथा प्रशासनिक भवन निर्माणका कार्यहरू सम्पन्न भएका हुन्।
आज उप प्रमुख स्यानी चौधरीले आगामी बर्षको बजेट प्रस्तुत गर्दै महत्वपुर्ण कामहरु सम्पन्न भएको बताईन । यस बर्ष वडा नम्बर ४ को रक्षाचौर चारबाटो चोक देखि एक्लेबर जाने सडकमा १ हजार १९४ मिटर, बाससोतादेखि वडा नम्बर १४ को वडा कार्यालय हुँदै मटेरा सडकमा ५ सय ५९ मिटर तथा वडा नम्बर १३ मा राप्ती राजमार्गदेखि पनालीपोट जाने सडकमा २ हजार ६५ मिटर कालोपत्रे गरिएको छ। यसरी विभिन्न स्थानमा गरी कुल १५ हजार ७७ मिटर सडक कालोपत्रे सम्पन्न भएको जनाइएको छ।
त्यसैगरी बासगढी चौकदेखि स्यालापानी जाने सडकमा १ हजार ९०८ मिटर तथा रनियापुर पुरानो बाख्रे नेपालगञ्ज जोड्ने सडकमा नाला निर्माण गरिएको छ। विभिन्न स्थानमा गरी कुल ९ हजार ९५८ मिटर पक्की नाला निर्माण भएपछि वर्षायाममा हुने निकासको समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै वडा न ३, ७ र १९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् भने वडा नं। ६ कार्यालय भवन निर्माणको काम अगाडी बढेको उल्लेख गरिएको छ । आगामी बर्षको बजेटले पुर्वाधार संगै कृषि तथा शिक्षा क्षेत्रको विकासमा थप टेपा पुग्ने नगर प्रमुख टिकाराम खड्काले विश्वास ब्यक्त गरेका छन ।




तपाईंको प्रतिक्रिया