प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयासप्रति राष्ट्रिय युवा संघको आपत्ति

 २ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालले पत्रकार तथा सञ्चारमाध्यममाथि हुने दबाब, धम्की र नियन्त्रणको प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ। संघले लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यमलाई स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

संघका अध्यक्ष महाराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा जनआस्थाका सम्पादक तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार सम्प्रेषणकै कारण पक्राउ गर्ने, धम्की दिने वा त्रसित पार्ने जस्ता गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ। यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाउने संघको भनाइ छ।

यस्तै राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशले पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। संघका अध्यक्ष सन्तोष वलीले पत्रकारिता क्षेत्रमा देखिएका कमजोरीलाई कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताएको छ। नागरिक अधिकारको संरक्षण तथा विधिको शासनको पक्षमा राष्ट्रिय युवा संघ सधैँ प्रतिबद्ध रहेको विज्ञप्ति मार्फत जनाएको छ।

तपाईंको प्रतिक्रिया