क्यान्सरसँग संघर्षरत सुन्तलीको उपचारका लागि सहयोगको अपिल

 १९ घण्टा अगाडि

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५८ वर्षीया सुन्तली परियार स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी छन्। आर्थिक अवस्था कमजोर रहेकी परियार हाल काठमाडौंस्थित न्याम्स (वीर अस्पताल) मा उपचाररत छिन्।

परियारको अहिले किमोथेरापी (किमो) चलिरहेको छ। चिकित्सकको सल्लाहअनुसार आगामी उपचारका लागि अप्रेसन गर्नुपर्ने भएकाले त्यसका लागि ठूलो रकम आवश्यक पर्ने परिवारले जनाएको छ। दुई छोरा रोजगारका लागि देश बाहिर रहेपनि ठुलो रकम जुटाउन सक्ने अवस्था नरहेको उनको परिवारले बताएको छ ।

केही महिनाअघि श्रीमानको निधन भएपछि सुन्तलीको परिवार थप आर्थिक संकटमा परेको छ।श्रीमानको निधनपछि घरको सहारा गुमाएकी उनी अहिले आफैं गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्।

उपचारमा लाग्ने खर्च जुटाउन कठिनाइ भएपछि सुन्तलीकी छोरी दिपिका विश्वकर्माले आमाको उपचारका लागि सहयोग गरिदिन सबैसँग अपिल गरेकी छन्। आर्थिक अवस्था कमजोर भएकाले परिवारको एक्लो प्रयासबाट उपचार खर्च जुटाउन सम्भव नभएको भन्दै उनले सहयोगी मन, समाजसेवी, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रह गरेकी हुन्।

“आमाको उपचार रोक्नु नपरोस्, सहयोगी मनहरूले साथ दिनुहोस्,” भन्दै दिपिकाले आमाको जीवनरक्षाका लागि सहयोगको अपिल गरेकी छन्।

सहयोग गर्न चाहनेले जेठि छोरी मधु नेपालीको इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

तपाईंको प्रतिक्रिया