जनकपुर-जयनगर रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

 फागुन ११, २०७७

काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।

पछिल्ला दिनमा उद्घाटन र शिलान्यासमा केन्दि्रत भएको सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल पनि उद्घाटन गरिहाल्ने योजना अनुरुप अध्यादेश नै ल्याउने तयारी गरेको हो ।

धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक भट्टराईले बताए । सरकारले संसदमा रेल्वे विधेयक लगेपनि पास भएको छैन ।

संसद विघटन भएकाले तत्कालै सो विधेयक पास हुने सम्भावना नभएकाले अध्यादेश ल्याएर रेल चलाउने वातावरण तयार गर्न लागिएको प्रवक्ता भट्टराईले बताए । अध्यादेश ल्याउन सरकारले धेरै ढिलाइ नगर्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया