सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

 असार १३, २०७७

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा भने उक्लिएको छ ।

२०औँ मिनेटमा बार्सिलोनाले लुइस सुआरेजकाे गाेलबाट अग्रता लिएको थियो ।

तर, ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई बराबरीमा फर्काए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरे । 

त्यसपछि मेस्सीकाे एसिस्टमा पुनः सुआरेजले ६ यार्ड बक्स अगाडिबाट हेडरमार्फत दाेस्राे गोल गरेका थिए ।

निर्धारित समयमा तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पीकेका कारण पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका हुन् । इन्ज्युरी समयमा पनि बार्सिलाेनाका लागि खतरापूर्ण रह्याे  नोलिटोले सहज अवसरमा गोल गर्न नसक्दा बार्सिलोना हारबाट जोगियो ।

बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ गोल रहेको छ । दोस्रो स्थानको रियल मड्रिडको ३१ खेलमा ६८ अंक छ । बार्सिलाेनासँग बराबरि खेलेकाे सेल्टा भने ३२ खेलमा ३४ अंक जोड्दै १६ औं स्थानमै छ ।

तपाईंको प्रतिक्रिया