साउथह्याम्पटनसँग म्यानचेस्टर सिटीको हार

 असार २२, २०७७

एजेन्सी – अघिल्लो खेलमा यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको लिभरपुललाई ४–० को हार चखाएको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सिटी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । सिटीलाई हार चखाउन चे एडाम्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसाइर साउथह्याम्पटनमा भएको खेलमा चे एडाम्सले खेलको १६औं मिनेटमा गोल गरेका थिए । स्टुआर्ट आम्सट्रोङले जिनचेन्कोबाट खोसेको बललाई गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा चे एडाम्सको ४० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलमा पछि परेपछि सिटीले घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि गोलरक्षक एलेक्स म्याकार्थी बाधक बने । सिटीेले ७३ प्रतिशत भन्दा बढी बल पोजेसन राखेको थियो । २९औं मिनेटमा ह्यारी इंग्सले गोललाईन नजिकैबाट क्लियर गर्दै सम्भावित बराबरी टारे । लगत्तै ३०आं मिनेटमा गोलरक्षक म्याकार्थीले रहिम स्ट्रलिङको प्रहारलाई उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफमा पनि गोलरक्षक म्याकार्थी निकै व्यस्त बन्दा सिटीले साउथह्याम्पटनको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।जितपछि साउथह्याम्पटन ३३ खेलबाट ४३ अंक जोडेर १३औं स्थानमा उक्लदा सिटी ६६ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

तपाईंको प्रतिक्रिया