कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु
नेपालगञ्ज ।
कोरोनाभाइरसको संक्रमणबाट बाँकेमा नेपाली काँग्रेसकी एकजना महिला नेतृको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझा निवासी ५४ वर्षिया नेपाली काँग्रेसकी क्षेत्रीय कार्यसमिति सदस्य तथा समाजसेवी मायादेवी गुरूङ्गको बुधबार बिहान उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार उहाँलाई गत माघ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा राखिएकोमा स्वास्थ्य अवस्था विग्रिएपछि फागुन ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँलाई प्लाज्मा र रेमडिसिभिर औषधी दिनुका साथै अन्य सबै विधी अपनाउँदा पनि स्वास्थ्य अवस्था झन जटिल बनेपछि बुधकनर बिहान गुरूङ्गको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
मृतक गुरूङ्ग नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा सभापति, सामुदायीक प्रहरी केन्द्रको सचिव तथा नेपालगञ्ज उद्योग वाणीज्य संघकी पूर्व कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । योसँगै कोभिड संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ५५ पुगेको छ । पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण घट्दै गएकोले धेरै समयपछि महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
तपाईंको प्रतिक्रिया