घोराही सिमेन्ट बिरुद्ध उच्च अदालतले दियाे यस्तो आदेश

 चैत ०९, २०७७



तुलसीपुर । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिलाई सडकमा धुँलो नउड्ने गरी काम गर्न गराउन अन्तरिम आदेश दिएको छ । अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरण र स्वास्थ्यलाई प्रतिकूल असर पार्ने कार्यलाई नियन्त्रण गर्नका लागि तत्काल व्यवस्था गरी सडकमा धुलो नउड्ने गरी पानीको फोहोराको व्यवस्था गर्न आदेश दिएको हो । अन्तरिम आदेशमा खानेपानीको श्रोतलाई समेत खलबल नपुग्नेगरी खानेपानीको व्यवस्थापन गर्न भनिएको छ । निवेदकको तर्फबाट अधिवक्ता सुरेश कुमार गौतम, बलबहादुर चन्द र विपक्षीको तर्फबाट अधिवक्ता रेवती रमण भट्टराई, रमण श्रेष्ठ लगायतले बहस गर्नुभएको थियो ।
दाङको घोराही उपमहानगरपालिका–३ र ४ मा संचालनमा रहेकोे सिमेन्ट उद्योग, मापदण्ड विपरित संचालन हुँदा दैनिक रुपमा निष्कने धुलो, धुँवा, ध्वनी प्रदूषणले नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर पारेकाले अन्तरिम आदेशको माग सहित चैत्र ५ गते अदालतमा निवेदन परेको थियो ।

तपाईंको प्रतिक्रिया