समाजमा सकारात्मक सन्देश: तुलसीपुर–११ मा बुहारी र जेष्ठ नागरिक सम्मानित
दाङ । तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले वडाका ४४ जना बुहारी र ९० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारमा मैत्रीपूर्ण वातावरण सिर्जना गर्दै ‘सासु–ससुरा’को राम्रोसँग हेरचाह गर्ने ४४ जना बुहारीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो। वडाका विभिन्न टोलबाट छनोट गरिएका ती बुहारीलाई सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ।
यसैगरी, ८० वर्ष माथिका ९० जना जेष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ। उनीहरूलाई हर्लिक्स उपहारस्वरूप प्रदान गरिएको थियो। कार्यक्रममा ११२ वर्षीया गुलरिया थरुणीसहित सम्मानित जेष्ठ नागरिकमा खुसि देखिन्थ्ये ।
कार्यक्रमलाई सम्बोधन गर्दै टीकाराम खड्का ले जेष्ठ नागरिकको उचित स्याहार–सुसार गर्नु सन्तानको मुख्य कर्तव्य भएको बताए। उनले समाजमा जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको उल्लेख गरे।
वडाध्यक्ष मानबहादुर रावत ले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताएका छन्। उनले आगामी दिनमा पनि समाजहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
वडा सदस्य प्रभा परियार को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव पदम भण्डारीले गरेका थिए।




तपाईंको प्रतिक्रिया