शिक्षण अस्पताल कोहलपुरमा लिक्विड अक्सिजन अाईपुग्याे
बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन लिक्विड अक्सिजन बोकेको ट्याङकर अाज अस्पताल परिसरमा आइपुगेको हो।
वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको शिक्षण अस्पताल कोहलपुरका प्रशाशन प्रमुख सँजय पन्तले जानकारी दिए।
लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान लिक्विड अक्सिजन आइनपुग्दै भनेर सामाजिक संजाल फेसबुकमार्फत ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो’ भन्ने स्टाटस लेखेका थिए।
त्यसैगरी, उनले दाङका लागि पनि दुईसय बढी अक्सिजन सिलिन्डर आजै पुग्ने र रुपन्देहीमा पनि अवस्था सहज हुँदै गएको उल्लेख गरेका थिए ।
शिक्षण अस्पतालले लिक्विड अक्सिजन अभावमा केही दिन अघिदेखि कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो। लिक्विड अक्सिजन आइपुगेपछि बिरामीको उपचारमा केही सहज हुने भएको छ।



तपाईंको प्रतिक्रिया